Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै


२८ फागुन, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ। पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)बाट सफाइको काम थालिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँजहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताए।

‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ’, उनले भने।

भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल र इञ्जीनियर शर्मा जानकारी समेत लिएका थिए।

नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए।

‘शहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौँ, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ’, विष्ट भन्छन्।

उनले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहज रूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए।

नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै उनले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकाले कतिपय ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको बताए।

विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम हुँदा समस्या समाधान नभएकाले यसपटक अन्तिम विन्दुबाट आम रूपमा सफाइ थालेको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरले बर्सेनि नाला सफाइ गर्दै आएको छ।

पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिँदा नेपालगञ्ज डुबान हुनबाट जोगिने नगरप्रमुख विष्टको विश्वास छ। एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाइएको बताइएको छ।

सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारीसमेत उम्रिएको पाइएको छ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?