Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

मासिँदै सिमल, लोप हुँदै गिद्ध


हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भन्नुभयो, “अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।” सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा पाइने यो रुखलाई अङ्ग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री पनि भनिन्छ । औषधीय गुण भएको यो वनस्पति मासिने क्रमले लोपोन्मुख वनस्पतिका रूपमा पुगेको उक्त कार्यालयले जनाएको छ । पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चरा पनि विस्तारै लोप हुँदै गएका छन् । सिमलको बोक्राको लेप हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने भुवा रगत सफा गर्नसमेत प्रयोग गरिन्छ । विसं २०४९ मा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो तर सरकारले नै २०६४ मा कटानमा फुकुवा गरेकाले मासिँदै गएको अधिकृत सापकोटाले बताउनुभयो । सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो वैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तकमा उल्लेख भएअनुसार स्वीडेनका वनस्पतिविद् एवं जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए । औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखअनुसार सिमलका विविध भाग विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ ।

यस्तै टाउको दुख्दा यसको पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पीपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गर्नुभएको थियो । सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेखअनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्ने गरिएको छ । आयुर्वेदिक चिकित्सक डा जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ । वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङद्वारा लिखित ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ (सन् २०१७) शीर्षकको पुस्तकअनुसार चेपाङ समुदाय पेट दुख्ने र आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।

सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणले सिमल औषधिजन्य जडीबुटी रहेको देखाए पनि वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् । स्वदेशी तथा विदेशी व्यापारीले कम राजस्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महँगो दाममा खरिद गरिरहेका छौँ । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकीनसमेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ । हाम्रा जडीबुटी आफैँले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्नसक्ने सम्भावना छ । सिमल नासिएसँगै वातावरणमा समेत असर परेको बताइन्छ । वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठदेखि प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकामा एशियामा नौ र नेपालमा मात्रै आठ प्रजातिका पाइन्छ । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?