Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । उहाँले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पार्नुभएको छ । काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।” उहाँले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकाङ्क्षा सम्बोधन गर्न सक्ने उल्लेख गर्नुभयो ।

खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “खेल कूटनीतिमार्फत ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार खडा भएको छ ।” उहाँले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो । कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइने गरेको भए पनि अहिले समय फेरिएको भन्दै प्रधानमन्त्री दाहालले आजको युगमा खेलकुद राष्ट्रको गौरव बढाउने माध्यमका रूपमा समेत विकास भएको बताउनुभयो । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ । साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ ।” प्रधानमन्त्रीले दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसीपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई सरकारको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत नेपाल सो संस्थाको उच्च प्राथमिकतामा पर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो । च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित उहाँले शुभकामना व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?