Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

सडक बालबालिकाको दीर्घकालीन समाधानमा जोड


एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका विद्यालयले पढाउने जिम्मा लिए पनि बालबालिका पुनःसडकमै फर्किएका छन् । महेन्द्र मिनी होस्टेलमा सडक बालबालिका व्यवस्थापनको समयमा श्रेय लिनेको होडबाजी चलेको थियो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बालबालिका राखिने होस्टेलमा फलफूल र मिठाइ बाँड्नेको लस्कर हुन्थ्यो तर अहिले बालबालिका सडकमै फर्किपछि कोही त्यसको जिम्मा लिन तयार देखिँदैनन् । बालबालिका व्यवस्थापनका क्रममा महेन्द्र नमुना माध्यमिक विद्यालयमा सात जना, सिद्धबाबा माध्यमिक विद्यालयमा तीन जना, रेसुङ्गा माध्यमिक विद्यालयमा दुई जना, उपल्लो तम्घास माध्यमिक विद्यालयमा दुई जना र बालमन्दिरमा दुई जना सडक बालबालिका अध्ययनका लागि व्यवस्थापन गरिएको थियो । बाँकी दुई जना विद्यालय गएनन् ।

महेन्द्र मिनी होस्टेलको नाममा बालबालिका व्यवस्थापन गर्दा झन्डै रु १२ लाख खर्च भएको थियो । रेसुङ्गा नगरपालिकाको रु तीन लाख ५० हजार, मालिका गाउँपालिकाको रु तीन लाख, धुर्कोटको रु एक लाख ५० हजार, इस्माको रु एक लाख ५० हजार, मदानेको रु ५० हजार र शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीको रु एक लाख ७६ हजार गरी कूल ११ लाख ७६ हजार खर्च भएको छ । अभिभावकको गैरजिम्मेवारीपन, सरोकारवाला निकायको अल्पकालीन निर्णय र विद्यालयको कमजोरीका कारण विद्यार्थी बनेका बालबालिका फेरि सडकमा फर्किएका छन् । अल्पकालीन व्यवस्थापन गरेर श्रेय लिनेको होडबाजी चले पनि सम्बन्धित पालिकामै नयाँ कार्यक्रम ल्याएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे जोड दिनुहुन्छ । दिनभर तम्घास बजारमा डुलेर मागेको पैसाले कतिपय सडक बालबालिकाले घरखर्चसमेत चलाउने गरेका छन् । उनीहरु दिनभर चिदिचौर खेलमैदान, बसपार्क क्षेत्र र तम्घास बजारमा पैसा माग्ने गर्दछन् र साँझ घर फर्किने बेलामा कतिपयले घरमा बाबुआमा खुसी बनाउन अण्डा, चाउचाउलगायत अन्य खानेकुरा किनेर लैजान्छन् भने कतिपयले आफैँलाई खान चाउचाउ, चुरोट, भोलादेखि थरिथरिका मिठाइ किन्ने गरेको पाइन्छ । कतिपय बालबालिका परिवारकै कारण सडकमा पुगेका छन् । तम्घास बजारमा खुलेर सबै शब्द बोल्न नसक्ने मनिष सुनारले बुबाको कुटाइका कारण दाजुहरुसँग सडकमा बस्ने गरेको बताए । “विद्यालय जान, पढ्न अनि खान मन लाग्छ”, तोते बोल्दै उनले भने, “बाबाआमाले माया गर्नुहुन्न, घरमा खान दिनुहुन्न ।” मनिष मायालु भएकाले देख्नेले पाँच÷दश रुपैयाँ दिन्छन् । मनिषको पनि विगत डेढ वर्षदेखि सडकमै बास छ । उमेरले छ वर्ष पुगेकी सलिना नेपाली पनि बाबुआमाले हेपाइका कारण अन्य सडक बालबालिकाकै समूहमा मिसिन पुगिन् । बजारमा हिँड्नेहरुको खुट्टा समाउँदै उनीहरुले दिएको पैसाले खानेकुरा किनेर घर लैजान्छिन् । उनकै कमाइले परिवारको हातमुख जोडिएको छ । “बाबाले कसैलाई नाम भन्ने र बाबाआमा चिनाएमा पिट्छु भन्नुहुन्छ”, उनले भनिन्, “विद्यालय जान नदिएर बजारमा पैसा माग्न पठाउनुहुन्छ ।” खानेकुरा लिएर गए मात्र घरमा बास पाइन्छ उनले भनिन् ।

समूहका नाइके हुन् सागर नेपाली । उनको समूहमा १० जना बालबालिका छन् । । दश वर्षका उनी समूहमा आइपर्ने समस्याको समाधान गर्दछन् । उनले सडकमा माग्दै हिँड्नुलाई आफ्नो अधिकार ठान्छन् । पढ्ने र लेख्ने सम्बन्धीका कुरामा आफूलाई ध्यान नजाने र बाबुआमाले पनि नपठाउने सागरको भनाइ छ । यो समूह बिहानको झिसमिसेमा बजार निस्कन्छ । झमक्क साँझ परेपछि घर फर्किन्छन् । बसपार्कमा केहीको घर भए पनि केही अस्थायीरुपमा बस्छन् । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सडक बालबालिकाको व्यवस्थापन हुने बताउनुहुन्छ । बालबालिकाको बानीमा सुधार ल्याउने गरी अर्धवार्षिक व्यवस्थापन भएको र विद्यालयसम्म बालबालिका पु¥याएको खत्रीले बताउनुभयो । पुनःसडकमा फर्किएका बालबालिकाको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरेर छाड्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?