Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा कृत्तिम ताल निर्माण थालिएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार हिलेजलजले ‘ख’ वनमा ० दशमलब ४९ हेक्टर क्षेत्रफलको ताल बनाउन लागिएको छ । प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेपछि प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत निर्माण गर्न लागेको तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यका लागि सजावटका काम हुने जनाइएको छ । त्यस्तै, ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेत संरक्षण गर्ने गरी ताल संरक्षण गर्ने योजना बनाइने, ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस, ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्याउन संरचना निर्माण गर्न सकिने जनाइएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ जङ्गलका रुख कटानको प्रक्रियासमेत सँगसँगै अघि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका डिभिजन प्रमुख तथा इञ्जिनीयर मनिष महर्जनका अनुसार ताल निर्माण हुने स्थानमा रुख कटानका लागि प्रक्रिया चलिरहेको छ । रुख कटान आदेशसँगै ताल निर्माणको काम अगाडि बढिरहेको र ताल निर्माण हुने स्थानका तीन सय सात वटा रुख कटान गर्नुपर्ने छ । त्यस्तै, ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिने र पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडा तथा एक सय ८२ मिटर लामो हुने उनले बताए । पहिलो चरणमा ताल निर्माण गरिने र दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चरणमा रु एक करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । तालसहितका उल्लेखित संरचना निर्माण गर्न थप रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । ताल निर्माणपछि सङ्घीय राजधानी काठमाडौँको नजिकैको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाइएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागतरुपमा लगिएको सांसद गोकुल बाँस्कोटाले बताए ।

उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो । यस्तै तीन वर्षअघि सङ्घीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको रु १५ लाख डिपीआरलगायतका लागि विनियोजन गरिएको थियो । हाल सानो पोखरीमा अवस्थित हिलेजलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको पाइएको छ भने नगरकोटस्थित महादेव पोखरी र हिलेजलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किम्बन्ती छ । त्यस्तै, वासुकी नाग हिले जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गरिन्छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही) का दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने हुँदै आएको छ भने वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कदा पहिलाकै अवस्थामा आउने किंबदन्ती पनि रहेको पाइन्छ । त्यसैगरी वासुकी नागले पनौतीको भ्रमण गर्दा उनको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास यहाँका बासिन्दामा रहेको स्थानीयवासी कृष्णप्रसाद दाहालले बताएका छन् । हिलेजलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयवासीको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?