Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गैरआवासीय नेपाली संघलाई तीन महिनाभित्रै भावनात्मक र सांगठनिक एकतावद्ध गराउँछुः महेश श्रेष्ठ


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक रुपमा एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।

काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार श्रेष्ठले १० औं महाधिवेशनका दौरान गैरआवासीय नेपाली संघमा देखिएको विवाद समाधान गरी दुवै धारलाई एकतावद्ध बनाउने बताएका हुन्।

श्रेष्ठले विश्वभरका गैरआवासीय नेपालीलाई मिलाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए। ‘१० औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरू असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर, म तीन महिनाभित्र असन्तुष्ट साथीलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु,’ उनले भने।

श्रेष्ठले यसअघि पनि एनआरएनएलाई पटक–पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको बताउँदै दुई वर्षभित्र परिणामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले असन्तुष्ट समूहका अभियन्तासँग निरन्तर संवाद भइरहेको बताए। ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु, संघमा रहेका सबै पदाधिकारीलाई जिम्मेवारी छुट्याएर परिणाम दिलाउनेछु,’ उनले भने।

अध्यक्षको उम्मेदवार श्रेष्ठले नेपालको समुन्नतीका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई बलियो बनाउनका लागि पाँच बुँदे एजेन्डा अघि सारेको बताए। उनले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने अठोट व्यक्त गरे।

विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाए । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।

महासचिव पदका उम्मेदवार बुद्धिसागर सुवेदीले एनआरएनएलाई एकतावद्ध, परिणाममुखी र पारदर्शी रुपले अघि बढाउन अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्न आग्रह गरे। उनले ‘मेरो र हाम्रो होइन राम्रोलाई सहयोग गर्न’ अनुरोध गरे।

पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा. केशव पौडेल, सुनिल साह, राजु रेग्मी राज, नारायण आचार्य, रोविन शेरचन, रोजिना प्रधान राई, गंगाधर गौतमसहित एआरएनए अभियन्ताहरूले एनआरएनएमा समग्र रुपान्तरणको पक्षमा काम गर्न ‘टिम महेश’ले जित्नुपर्ने बताए।

त्यसैगरी, उपमहासचिव पदका उम्मेदवार सोम सापकोटा, प्रविन गुरुङ, सचिव पदका उम्मेदवार दयानिधि सापकोटा, मनोज श्रेष्ठ गोर्खाली, भीम केसी कमल, कृष्णजीवी पन्त, स्वतन्त्रप्रताप शाह, केपी सिटौला, विमला सापकोटालगायतले नवीन रुपान्तरणको पक्षमा आफ्नो टिम रहेको बताए। कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना, सहकोषाध्यक्षका उम्मेदवार तिलक गैरे, कृष्ण तिमल्सिना, मोहम्मद मुक्तदा मुसलमानले ‘टिम महेश’लाई जिताउने प्रतिवद्धता जनाए।

सहकोषाध्यक्षका उम्मेदवार तृष्णा शर्मा काफ्ले, युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजकका उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटा लगायतका उम्मेदवार र निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्त गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उद्घाटन गरेको महाधिवेशन कात्तिक ३ गतेसम्म चल्नेछ। बिहीबार मतदान गर्ने निर्वाचन तालिका छ। अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको अध्यक्ष कुल आचार्यले बताए। महाधिवेशनमा चार हजार २२७ मतदाता छन्। अध्यक्ष पदमा श्रेष्ठसँगै वर्तमान अध्यक्षद्वय रविना थापा र बद्री केसी तथा उपाध्यक्ष राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको छ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?