काठमाडौं। ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा जित हासिल गरेका छन् । तर प्रतिष्पर्धी तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गर्दै चुनाव रद्ध गर्न माग गरेका छन् ।
ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आइतबार राति सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ९९.९९ प्रतिशत मतगणना सम्पन्न हुँदा लुलाले ५१.७९ प्रतिशत सदर मत प्राप्त गरेका हुन् । उनका प्रतिष्पर्धी लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन् । जितपछि साओ पाउलोमा आयोजित प्रत्यक्ष सम्बोधनमा लुलाले जनताबाट निर्वाचित रूढिवादी धारको संसदसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले निर्णय प्रक्रियामा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै डिजिटल माध्यमबाट हुने विदेशी हस्तक्षेपको सामना गरेपछि डिजिटल नियमनलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । ब्राजिल कुनैपनि देशको प्रभाव क्षेत्र वा अधीनस्थ भूभाग नभएको उल्लेख गर्दै उनले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने धारणा व्यक्त गरेका छन् ।
यता, राजधानी ब्रासिलियामा सम्बोधन गर्दै फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्नु ‘असम्भव’ रहेको बताएका छन् । उनले निर्वाचन रष् गर्नसमेत माग गरेका छन् ।
लुलाले आगामी सन् २०२७ जनवरी ५ मा चार वर्षे कार्यकालका लागि शपथ लिने जनाइएको छ । यससँगै उहाँ चौथोपटक ब्राजिलको राष्ट्रपति बन्नुहुनेछ । ब्राजिलमा राष्ट्रपतीय निर्वाचन दुई चरणको बहुमतीय प्रणालीअनुसार हुने गर्छ । पहिलो चरणमा विजयी हुन उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्छ । गत अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा फ्लाभियो बोल्सोनारोले करिव ४७ प्रतिशत मत प्राप्त गर्दै लुलालाई पछि पारेका थिए । लुलाले करिव ४५ प्रतिशत मत प्राप्त गरेका थिए । कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दुवै उम्मेदवार दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणमा भने लुलाले जित हासिल गरेका हुन् ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार