Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

ग्रामीण समुदायका महिलालाई सीप विकाससम्बन्धी प्रशिक्षण


स्याङ्जाको कालीगण्डकी ४ विर्घाकी गङ्गा पाण्डेय घरायसी काममा व्यस्त हुनुहुन्थ्यो । चुलो चौको, घाँसपातसहित घरायसी कामकाज नै उहाँको दैनिकी हुन्थ्यो । उहाँजस्तै यहाँका अन्य ग्रामीण महिलाको दैनिकी प्रायः गङ्गाकै जस्तो मिल्दोजुल्दो थियो । ग्रामीण समुदायका महिला काममा निरन्तर खटिने, परिश्रम र मेहेनत गर्ने तर त्यसबाट उपलब्धी नहुने चुनौती थिए । दिगो जीविकोपार्जनका लागि महिलालाई उद्यमी बनाउनुपर्छ । यसका लागि महिला सशक्तीकरण तथा उद्यमशीलताका विषयमा प्रशिक्षण आवश्यक रहेको भन्दै मातृभूमि सामुदायिक पुस्तकालयले सीप विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्यो ।

शान्ति भोलेन्टियर एसोसियसन र रिड नेपालको प्राविधिक सहयोगमा ग्रामीण समुदायमा रहेका महिलालाई लक्षित गरी सीप विकाससम्बन्धी प्रशिक्षण दिएसँगै महिलामा थप उत्साह र ऊर्जा थपिएको छ । “घरायसी काममामात्रै सीमित रहँदा अन्य अवसर र सम्भावनाका बारेमा हामीलाई ज्ञान हुँदैनथ्यो”, पाण्डेय भन्नुहुन्छ, “जब प्रशिक्षण पायौँ अनि सम्भावनाका ढोका खुलेको महसुस भएको छ ।” गङ्गाजस्तै रुपा पाण्डेयमा पनि प्रशिक्षणले प्रभाव पारेको छ । पुस्तकालयले महिलालाई लक्षित गरी आर्थिकरुपमा सशक्त बनाउन प्रशिक्षण दिएसँगै रुपामा पनि थप ऊर्जा ल्याएको छ । “जान्न र बुझ्न सके महिलाको आर्थिक विकासका लागि प्रशस्तै सम्भावना रैछन्”, रुपा भन्नुहुन्छ, “प्रशिक्षण पाउनुपूर्व हामी आफ्नै कुराहरु राम्रोसँग राख्न र घरबाहिर निस्केर खुलेर बोल्न सक्दैनथ्यौँ, घरकै काममा तल्लिन हुन्थ्यौँ, अब समय निकालेर आफूजस्तै अन्य महिला दिदीबहिनीको दैनिकी परिवर्तनमा लाग्ने छु ।” गङ्गा र रुपा पाण्डेयजस्तै प्रशिक्षणमा सहभागी भएका अन्य ४५ जना ग्रामीण महिलाले आफूहरुमा आत्मबल बढ्दै गएको बताउनुभयो । महिलाको आर्थिक विकासका लागि सम्भावनाको पहिचान भएकाले अब व्यक्तिगत वा सामूहिकरुपमा उद्यमशीलतामा जोडिँदै व्यावसायिकतातर्फ उन्मुख हुँदै जाने उहाँहरुको भनाइ थियो ।

महिलालाई प्रशिक्षण गरी आर्थिक विकासमा बढी प्रभाव पार्न सकिने विश्वाससहित महिला लक्षित कार्यक्रम सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । “महिला अब घरायसी काममा मात्रै सीमित हुनुहुन्न, अब आर्थिक उत्पादनसँग जोडिनुपर्छ यो समयको माग पनि हो”, अध्यक्ष पाण्डेयले भन्नुभयो, “महिलालाई आर्थिक उत्पादनसँग जोड्नका लागि पुस्तकालयले त्यहीअनुसारको सीप तथा आवश्यक सामग्री प्रदान गर्छ ।” महिला सीपयुक्त हुने र आर्थिक उत्पादनसँग जोडिने बित्तिकै स्वतन्त्र र सबल हुने विश्वास अध्यक्ष पाण्डेयको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?