Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै


छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकिएको छ ।

रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । यही फागुन १४ देखि १९ गतेसम्म रत्ननगरका विद्यालयमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ । यो एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमणबाट बचाउँछ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मञ्जु पाण्डेका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभइ योनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । पाँचदेखि १२ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने उहाँले बताउनुभयो । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै ‘साइड इफेक्ट’ छैन ।

धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुम्रपान गरेमा, लामो समयसम्म हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने डा पाण्डेको भनाइ छ । एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?