Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै


शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उहाँ बताउनुहुन्छ । “थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ”, उहाँले भन्नुभयो, “बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन् ।” बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ । मागी हुने बालविवाह कम हँुदै गए पनि भागेर गरिने विवाह अधिकांश बालविवाह नै हुने गरेका छन् । बालविवाह गर्ने अधिकांशको सम्बन्ध बीचमै टुट्ने गर्दछ । बालविवाह गर्नेले दोस्रो विवाह गरेका घटनाहरू गाउँघरमा देखिँदै आएको सुनिता डगौराले बताउनुभयो । “केही वर्षअघिदेखि बालविवाहविरुद्ध महिला समूहमा आबद्ध महिलाले आवाज बुलन्द गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “त्यसको प्रभावका कारण बालविवाह केही वर्ष रोएिको थियो, जनचेतना फैलाउने कार्य रोकिएसँगै पुनः बालविवाह हुन थालेका छन् ।” गाउँका १० जना बढीले आधारभूत तहकै कक्षा ८ पढ्दै गरेका बेला विवाह गरेको उहाँले बताउनुभयो । मुक्त कमैया परिवारको अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको उल्लेख गर्नुहँुदै उहाँले त्यसमै विद्यालय पढ्दै गरेका बालकले भगाएर बालिका भित्र्याउने गरेको बताउनुभयो । “यसबाट बालकले घरको खर्च धान्नका लागि विद्यालय बीचमै छाड्दै अभिभावकसँगै मजदुरीमा जानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “समय नपुगीकनै बच्चा जन्मिन्छ, बच्चा जन्माउने आमा बिरामी हुने क्रम सुरु हुन्छ, सम्बन्धमा खटपट भई बालविवाह गर्नेले अर्को श्रीमती भित्र्याउँछन्, पहिला ल्याइएकी श्रीमती अलपत्र पर्छिन् ।”

गाउँकै बालविवाह गरेकाहरूको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अठार वर्षमुनिका बालकले दुई वर्षअघि आफू उमेरकै बालिकालाई भगाएर ल्याएँ, श्रीमान् कमाउन भारततर्फ लागे, यता बालिकाले बच्चा पाइन्, भारत गएका श्रीमान्ले उतै दोस्रो विवाह गरेपछि, घरमा रहेकी श्रीमती अलपत्र परिन् ।पछि उनले आत्महत्याको बाटो रोज्नुपर्यो ।” अर्का १५ वर्षकै उमेरमा बालविवाह गरेका बालिकाको गर्भ रहे पनि दुईपटक बच्चा खेर गएको उहाँले बताउनुभयो । “उपचारमा धेरै रकम खर्च भए पनि सानै उमेरमा विवाह गर्ने किशोरीमा शारीरिक जटिलता देखिँदै आएको छ”, उहाँले भन्नुभयो, “सधैँ बिरामी भएर बस्नुपरेको छ ।” थारू अगुवा भागिराम डगौराका अनुसार बालविवाह गर्नेमा अधिकांश १४ वर्षदेखि १८ वर्षसम्मका किशोर–किशोरी बढी रहेका छन् । बालविवाह गर्नेमा मुक्त कमैया समुदायका किशोर–किशोरी बढी रहेका छन् । बढ्दो मोबाइल र इन्टरनेटको प्रयोगले बालविवाह गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँ बताउनुहुन्छ । “फेसबुकलगायतका समाजिक सञ्जालमार्फत चिनजान गर्छन्”, उहाँले भन्नुभयो, “त्यही चिनजानका कारण सानै उमेरमा भगाएर किशोरी घरमा ल्याउँछन् ।” बीचमै विद्यालय छाड्ने बालकले मजदुरी जाँदा कमाउको पैसाले मोबाइल खरिद गर्ने गरेका छन् ।

बालविवाह गर्दा विवाह दर्तासँगै सानै उमेरमा जन्मेका शिशुको जन्मदर्ता नहुने गरेको उहाँले बताउनुभयो । “बालविवाह बढ्दै गएकाले जनचेतनाको कार्यलाई प्रभावीरूपमा फैलाउनुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “बडघर, जनप्रतिनिधिले सामाजिक कुरीतिलाई रोक्नका लागि लाग्नुपर्छ, स्थानीय तहले बालविवाहविरुद्धका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।” नौखरीस्थित जनभावना आधारभूत विद्यालयका प्रध्यानाअध्यापक पुष्पराज भट्ट मुक्त कमैया परिवारमा बालविवाह बढ्न थालेपछि विद्यालयमा पढ्दै आएका बालबालिकालाई बालविवाह गरेमा स्वाथ्यमा हुने हानीका बारेमा सचेत पार्दै आएको बताउनुहुन्छ । बालविवाहकै कारण बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “गएको शैक्षिक सत्रमा मात्रै २४ जना बालबालिकाले विद्यालय बीचमै छाडेका छन्”, उहाँले भन्नुभयो, विद्यालय छाड्नेमध्येका सात जना बढीले बालविवाह गरेका छन् ।” सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने गरेको उहाँको भनाइ छ।

उहाँका अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ । “बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन्”, उहाँले भन्नुभयो, “बालविवाहका कारणले बालिकाहरू शरीरिक, मानसिक, यौनिक र घरेलु हिंसाको बढी जोखिमा पर्ने गरेका छन् ।” मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?