Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम


२० भदौ, बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो ।

दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले भने, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्टमा भने ह्वात्तै बढेको छ ।”

पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा प्रदेशमा छ सय ८० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भइसकेको छ । सम्पर्क व्यक्ति जोशीका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा तीन सय ५३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । “सङ्क्रमणका कारण यस वर्ष सुदूरपश्चिममा कोहीले पनि ज्यान गुमाउनु परेको छैन । गत वर्ष प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो”, सम्पर्क व्यक्ति जोशीले भने ।

अरु महिनाभन्दा अगस्तमा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढेको हो । उनले भने, “तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ ।” डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?