Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पोखराका किसानलाई पौने दुई करोड प्रोत्साहन रकम


२१ ,श्रावण ,गण्डकी । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।

महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरीपालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।

महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३, १४, २२, २३, २४, २५, ३१ र ३३ वडामा तरकारी, १६, २०, २८ र ३० मा मौरी, १५ र २७ मा आलु, २६ मा चैते धान, १९ मा उवा, २१ मा सुन्तला र ३२ मा उखु खेतीको पकेट क्षेत्र तोकिएको छ । व्यावसायिक कृषिको क्षेत्र विस्तार र उत्पादनमा आधारित रहेर किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महाशाखा प्रमुख कडरियाले बताए । “अधिकांश वडामा रु १२ लाख हाराहारीको बजेट प्रोत्साहन रकममा खर्च भएको छ”, उनले भने, “कृषिमा आकर्षण बढाउन र वडालाई कृषि पकेटका रुपमा विकास गर्न महानगरले यो कार्यक्रम सञ्चालन गरेको हो ।”

वडा नं १९ मा रैथाने बाली प्रवर्द्धनअन्तर्गत उवा खेती गर्ने किसानलाई रु पाँच लाख प्रदान गरिएको महाशाखाले जनाएको छ । सो वडामा झन्डै एक हजार रोपनी क्षेत्रफलमा उवा खेती गरिँदै आएको छ । वडा नं २१ मा सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत दुई सय ४६ जना किसानलाई प्रतिबोट रु एक सयका दरले रु २५ लाख ५० हजार वितरण गरिएको थियो ।

त्यहाँ २५ हजार पाँच सय बोटमा सुन्तला उत्पादन हुँदै आएको छ । चैत धान र व्यावसायिक तरकारी खेती गर्ने २६ र २७ वडाका चार सय १६ किसानले प्रोत्साहन रकम पाएको वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले जानकारी दिए । वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ किसानलाई रु आठ लाख ३८ हजार नौ सय ६८ र व्यावसायिक तरकारी खेती गर्ने चार किसानलाई रु तीन लाख ३२ हजार एक सय ५० प्रदान गरिएको हो ।

वडा नं २७ मा चैते धान लगाउने एक सय दुईजना किसानले रु तीन लाख ४८ हजार एक सय ५० र तरकारी खेतीमा लागेका १५ किसानले रु तीन लाख ७८ हजार छ सय १३ बुझेका हुन् । चैते धान खेती गर्ने किसानलाई प्रति रोपनी रु नौ सयका दरले प्रोत्साहन रकम दिइएको हो । तरकारीतर्फ प्लास्टिक घर (टनेल)मा खेती गर्नेलाई प्रतिवर्गमिटर रु एक सय ३० र तरकारीको क्षेत्र विस्तार गर्नेलाई प्रतिरोपनी रु दुई हजारका दरले प्रदान गरिएको अध्यक्ष ढुङ्गानाले बताए ।

किसान प्रोत्साहन कार्यक्रमले चैते धान, उवालगायत रैथाने बालीको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको महाशाखा प्रमुख कडरियाले बताए । “उत्पादनमा आधारित प्रोत्साहन रकम दिन थालेपछि वास्तविक किसानलाई लाभ मिलेको छ, कृषियन्त्र, उपकरणमा कतिपय किसानलाई अनुदान पनि उपलब्ध गराएका छौँ”, उनले भने । वडा नं १६, २०, २८ र ३० मौरीपालक किसानलाई मौरीसहितको घार ५० प्रतिशत अनुदानमा प्रदान गरिएको थियो ।

पोखरा–२६ मा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका बागलुङका कर्ण पुनले महानगरले दिएको प्रोत्साहन रकमले आफूलाई हौसला मिलेको बताए । उनले रु एक लाख ५१ हजार प्रोत्साहन रकम प्राप्त गरेका थिए । पुनले १७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?