Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

वालिङमा अनलाइनबाटै घर नक्सा पास


१६ वैशाख ,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।

फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए ।

नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास ब्यवस्थापन प्रणाली (इविपिएस) अनुसार काम अगाडि बढिरहेको उनले बताए । “नगरपालिकाको इविपिएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ”, अर्यालले भने, “सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।”

अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए । फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको उनले बताए ।

वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउछन् । अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ सालको मापदण्ड अनुसार ६०, नियमित अभिलेखीकरण (भूकम्प) २७ र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताए ।

अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शङ्कर बस्यालले बताए । “यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन”, उनले भने, “अनलाइन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ ।”

अनलाइन प्रणालीबाट काम गर्दा कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजर र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?