Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

माघीपर्व मनाउँदै थारू समुदाय


थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ । विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । थारू समुदायमा प्राचीनकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिने गरिन्छ । माघ १ गते नै यो अभ्यास हुने प्राचीनकालदेखिकै परम्परा छ ।


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?