Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मातातीर्थ मेलाका लागि तयारी पूरा


४ वैशाख, काठमाडौं । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए । उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ। मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए ।

‘काठमाडौँमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ÷दशजना श्राद्ध गर्न आउने गर्छन्,’– उनले भने ।
संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताए ।

दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उनले गुनासो गरे ।

सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?