Trending
>>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी


हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी

काठमाडौँ । हेटौंडा बजारमा जथाभावी पार्किङ र छरिएर सञ्चालन भइरहेका सुमो तथा बसका काउन्टरका कारण हुने सवारी चाप घटाउन उपमहानगरपालिकाले नयाँ व्यवस्थापनको तयारी थालेको छ ।

हेटौंडा–चौकीटोलस्थित रोपवे चौरलाई सुमो तथा अन्य सवारीसाधनको एकीकृत पार्किङ र टिकट काउन्टरका रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । हाल हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसीएन रोड र सङ्गमचोकलगायतका स्थानमा सुमो तथा बसका काउन्टर सञ्चालनमा छन् । विभिन्न स्थानमा रहेका काउन्टरका कारण यात्रु चढाउने–ओराल्ने क्रममा सडकमा सवारी रोकिने र पार्किङको समस्या हुने गरेको छ ।

उपमहानगरपालिकाले अब यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गरेर बजार क्षेत्रको यातायात प्रणालीलाई व्यवस्थित गर्ने योजना अघि सारेको हो ।

चाडपर्वअघि ‘ट्रायल’, पछि स्थायी संरचना
रोपवे चौरमा तत्कालका लागि चाडपर्वलाई लक्षित गरेर अस्थायी रूपमा सवारी व्यवस्थापन गरिनेछ। त्यसका लागि चौरलाई पार्किङयोग्य बनाउन आवश्यकताअनुसार डोजर प्रयोग गरी सम्याउने तयारीसमेत गरिएको छ ।

सम्भवतः सोमबारदेखि नै रोपवे चौरबाट सुमोको काउन्टर सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ । पछि भने त्यहाँ व्यवस्थित पार्किङस्थल निर्माण गरेर स्थायी रूपमा सञ्चालन गर्ने योजना छ ।

दैनिक करिब ४ सय सुमो
मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने गरी हेटौंडाबाट दैनिक करिब ४ सय सुमो सञ्चालन हुने गरेको बताइएको छ । यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गर्दा यात्रुलाई पनि सहज हुने र बजार क्षेत्रमा सवारीको अनावश्यक आवतजावत तथा पार्किङ घट्ने अपेक्षा गरिएको छ ।

रोपवे चौरबाटै यात्रुले टिकट लिने र त्यहीँबाट सवारी छुट्ने व्यवस्था मिलाउने तयारी छ । यसले यात्रु र सवारी व्यवस्थापनलाई एउटै प्रणालीमा ल्याउने उपमहानगरपालिकाको योजना छ ।

विचौलियाको प्रभाव घटाउने अपेक्षा
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सवारी काउन्टरलाई एउटै स्थानमा ल्याउँदा बजारको ट्राफिक व्यवस्थापन सहज हुने बताइन् । उनकाअनुसार छरिएर सञ्चालन भइरहेका काउन्टरका कारण उत्पन्न हुने समस्या र बिचौलियाको प्रभावसमेत घट्ने अपेक्षा गरिएको छ । २०७५ सालमै रोपवे चौरको बसपार्क उद्घाटन गरिएको भए पनि कोभिड–१९ का कारण त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाको भनाइ । अब भने सोही स्थानलाई पुनः सक्रिय बनाएर दीर्घकालीन रूपमा व्यवस्थित पार्किङ तथा यातायात केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पनि रोपवे चौरमा सवारी व्यवस्थापन गर्ने योजनालाई व्यवसायीले सहयोग गर्नुपर्ने बताएका छन् । उनले प्रभावकारी व्यवस्थापनका लागि प्रहरीको निगरानीसँगै सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिएका छन् ।

रोपवे चौर सञ्चालनमा आएपछि हेटौंडाको मुख्य बजार क्षेत्रबाट सुमो काउन्टर हट्ने र सवारीसाधन एकीकृत रूपमा सञ्चालन हुने भएकाले यसले बजारको ट्राफिक व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?