काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी व्यक्त गरेका छन् ।
शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले खुशी व्यक्त गरेका छन् । उनले जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्रै नभई विश्वभर हुने गरेको उल्लेख गर्दै यस्तो पवित्र र उत्सवमय अवसरमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिकतामा विश्वास गर्ने भएकाले विभिन्न मठमन्दिरमा जाने र धार्मिक आस्थाअनुसारका गतिविधिमा सहभागी हुने गरेको पनि बताएका छन् ।
उनले भने, ‘सबैभन्दा पहिले, यस्तो पवित्र, पुण्यमय र उत्सवमय अवसरमा यहाँ उपस्थित हुन पाउँदा म अत्यन्तै खुशी छु । जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्र होइन, विश्वभरि हुने गरेको छ । यस्तो ऐतिहासिक र धार्मिक पर्वको प्रत्यक्ष साक्षी बन्न पाउँदा मलाई विशेष आनन्द र गौरवको अनुभूति भएको छ । हामी र हाम्रो परिवार धार्मिक तथा आध्यात्मिक आस्थामा विश्वास राख्छौँ । विभिन्न मठमन्दिरमा जाने, धार्मिक परम्परा र आस्थाअनुसार पूजा–आराधना गर्ने हाम्रो निरन्तर अभ्यास रहँदै आएको छ । आजको यो उपस्थिति पनि त्यही धार्मिक आस्था र परम्पराको निरन्तरता हो ।’
जनकपुरमा छठ मनाउन पुग्नु पनि त्यही धार्मिक आस्थाको निरन्तरता भएको उनको भनाइ छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार