काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् ।।
नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका छन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताएका छन् । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरेका छन् । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्वपूर्ण हुने उनको भनाई छ । त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताएका छन् । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाई छ । आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताएका छन् । उनले स्थानिय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाई छ । उनले निर्वाच्नमा असहयोग गर्नेलाई वडा तहमा नै कारबाही गर्न पनि निर्देशन दिएका छन् ।
उनले भने, ‘अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो । देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पु¥याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्व छ । एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ । प्रदेश सभाको निर्वाचन प्रदेशभरिका लागि सरकार बनाउने, त्यहाँका रिसोर्सहरू परिचालन गर्ने, त्यहाँ विकास निर्माण गर्ने, त्यहाँको बजेटको सदुपयोग गर्ने छँदैछ, त्यसबाहेक राष्ट्रिय सभाको मतदाता तयार गर्ने पनि हो । अर्को कुरो त्यसपछि तुरुन्तै राष्ट्रपति निर्वाचन हुन्छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनका लागि मतदाता भनेका प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्य हुन् । स्थानीय तहको निर्वाचन, प्रदेश सभाको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, यी निर्वाचनहरू हाम्रा अगाडि आउँदै छन् । यो निर्वाचन एक्लै स्वतन्त्र निर्वाचन मात्रै छैन, त्यसको सम्बन्ध फेरि अर्को कुरासँग जोडिएको छ । त्यसको निर्वाचनको माथि राष्ट्रिय सभा गठनसँग जोडिएको छ । यसर्थ हामीले यसमा अत्यन्तै ध्यान दिएर लाग्न जरुरी छ । योजनावद्ध ढङ्गले लाग्न जरुरी छ । आगामी निर्वाचनलाई हामीले महत्वको साथ लिएका छौँ । हाम्रो लागी अहिले अनुकुल वातावरण पनि छ, विगतको निर्वाचनमा जस्तो अहिले हामीलाई असहज छैन । यद्यपि सरकारको क्रियाकलाप अझै स्वेच्छाचारी नै छ ।’
उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाएका छन् । उनकाअनुसार उक्त निर्वाचन राज्यशक्तिको प्रयोग गरेर शान्तिपुर्ण रुपमा बुथ कब्जा गरिएको थियो ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार