काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गरेका छन् ।
शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गरेका हुन् । उनले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताए । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उनको भनाई छ । उनले पार्टीभित्र आफू प्रो कोईराला रहेको बताएका छन् । उनले आफू वीपी कोईरालाको अनुयायी र गिरिजाप्रसाद कोईरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताएका छन् । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘म वीपी कोईरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरु प्रो कोईराला नै हुन्छन्, म प्रो कोईराला नै हो । यो स्वीकार्नलाई मलाई लाज छैन । यो पार्टीको स्थापना पनि कोईराला फ्यामिलीले नै गरेको हो । अहिले पार्टीको विरासत अथवा पार्टीको छवि खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नको निम्ति हाम्रो उम्मेदवारी हो । व्यक्ति महत्वपूर्ण होइन, कोईरालाको विचार, बीपी कोइरालाको विचार, गिरिजाबाबुको विचार, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने हामीजस्ता हजारौँ कार्यकर्ता छन् । काँग्रेस फुटेको छैन। अलिअलि झमेला, झैझगडा लोकतान्त्रिक पार्टीमा भइरहन्छ । यसलाई मिलाउने कर्तव्य हाम्रो हो, महामन्त्री भएपछि पहिलो काम पार्टी मिलाउने मै हुन्छ ।’
सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उनले बताएका छन् । सभापतिमा उम्मेद्वारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उनको भनाई छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उनले बताएका छन् ।
उनले भने, ‘अहिले सभापतिमा चाहिँ धेरै आकांक्षीहरु हुन सक्छन्, कम आकांक्षीहरु हुन सक्छन्, सर्वसम्मत हुन सक्छ, सबैभन्दा पहिला महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको र सभापतिको उम्मेदवारी घोषणा हुन बाँकी रहेकोले सभापति घोषणा भइसके पछाडि युवाहरुलाई अथवा युवाहरुका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारमध्येलाई मेरो समर्थन रहन्छ । अब उम्मेदवारी नै घोषणा नगरिकन फलानो हो म किन भन्ने ?’
उनले आफूले कुनै छुट्टै टिम नबनाउने पनि बताएका छन् ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार