काठमाडौं ।जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवकाअनुसार महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ ।
उनले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सरकारी निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताएका छन् । विवाहपञ्चमीमा नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थी जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, सत्कार र सुविधालाई प्राथमिकतामा राख्न बैठकका सहभागीहरूले जोड दिएका थिए ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अगुवाइमा भएको सर्वपक्षीय बैठकले महोत्सवमा सहभागी हुन आउने श्रद्धालु तथा दर्शनार्थीको स्वागत र व्यवस्थापनमा कुनै कमी हुन नदिन जनकपुरधामवासीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार