काठमाडौं । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ ।
उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा उक्त पाइपलाइन सञ्चालनमा आएको घोषणा गरिएको हो । पाइपलाइनले दारहान मुमिङगान संयुक्त ब्यानर क्षेत्रमा उत्पादन हुने हरित हाइड्रोजनलाई औद्योगिक उपभोक्तासम्म पुर्याउनेछ ।
वार्षिक एक लाख टन हाइड्रोजन ढुवानी गर्ने क्षमतासहित निर्माण गरिएको यस पाइपलाइनले चीनमा ठूलो परिमाणमा लामो दूरीसम्म हाइड्रोजन ढुवानी गर्ने पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा हरित हाइड्रोजन ढुवानी लागत प्रतिकिलोग्राम करिब १३ युआनबाट घटेर तीन युआनमा झर्ने अनुमान गरिएको छ । यसबाट ढुवानी लागतमा करिब ७७ प्रतिशत बचत हुनेछ ।
यस परियोजनालाई चीनले स्वच्छ ऊर्जा उत्पादन र औद्योगिक क्षेत्रमा हरित हाइड्रोजनको प्रयोग विस्तार गर्ने प्रयासका रूपमा लिएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार