काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ ।
जलवायु परिवर्तनका स्थानीय असर न्युनिकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र तथा नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराइने बताएका छन् । काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा कार्यक्रम अघि बढाउने लक्ष्य राखिएको छ । महानगरपालिकाकाअनुसार सहरी क्षेत्रलाई केन्द्रमा राखेर जलवायु परिवर्तनका असर न्युनिकरण तथा व्यावहारिक कार्य थालनी गर्न लागिएको यो नेपालकै पहिलो प्रयास हो । कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्नुका साथै समुदायको सहभागितामा तत्काल कार्यान्वयन गर्न सकिने विज्ञानसम्मत गतिविधि सञ्चालन गरिने प्रवक्ता मानन्धरले बताए । तिब्र शहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्याधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको अभाव तथा फोहरमैला व्यवस्थापनजस्ता चुनौती सामना गरिरहेको छ । यी समस्या समाधानका लागि तीनै तहका सरकार, समुदाय, अनुसन्धानकर्ता, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको महानगरपालिकाले जनाएको छ ।
कार्य सप्ताहका सात दिन फरक–फरक विषयमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद हुनेछ । यस क्रममा काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, सरकारी निकाय, विज्ञ तथा सरोकारवालाबीच सहरी उत्थानशीलता र साझा प्राथमिकताबारे छलफल गरिनेछ । ‘रिचार्ज काठमाडौं’ अभियान, वायु प्रदूषण न्युनिकरण, वृक्षरोपण र फोहरमैला व्यवस्थापनका अभ्यासलाई पनि प्राथमिकता दिइनेछ ।
दोस्रो दिन जलवायु वित्तका विषयमा छलफल हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषय उठाइनेछ ।
तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम हुनेछ । ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।
चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरबाट ऊर्जा उत्पादनबारे छलफल हुनेछ । यसै दिन टेकुस्थित बायोग्यास प्लान्ट उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।
पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ । यसअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा वातावरणीय सचेतनासम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीका नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि पनि प्रदर्शन गरिनेछ ।
यसै अवसरमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीबीच ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सात जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० जनालाई ‘काठमाडौं महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरिनेछ ।
छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा केन्द्रित हुनेछ । सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ । राष्ट्रिय जीन बैंक, खुमलटारलगायत कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन र कृषकसँग अन्तरक्रिया पनि गरिनेछ ।
सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वबारे छलफल हुनेछ । जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, हिमाली क्षेत्रमा हुने क्षति तथा नोक्सानी र जलवायु वित्तका विषय उठाइनेछ । सप्ताहको अन्तिममा सहकार्यको प्रतिबद्धतासहित संयुक्त विज्ञप्ति, आगामी कार्यदिशासम्बन्धी मार्गचित्र र ‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काठमाडौं घोषणा २०८३’ जारी गरिनेछ ।
कार्य सप्ताहका क्रममा नेपाल प्रिमियर लिगसँगको सहकार्यमा हरित रंगशाला, शून्य फोहरका खेल दिवस तथा खेलमार्फत जलवायु सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिनेछ । साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग र वायु प्रदूषण न्यूनीकरणसम्बन्धी अभियान चलाइने महानगरपालिकाले जनाएको छ । त्यस्तै, ‘काठमाडौं इन टेन इयर्स’ नामक खुला डिजाइन प्रतियोगिता, युवा सिर्जनाकर्मीका लागि भिडियो तथा कथावाचन प्रतियोगिता र महानगरका ३२ वटै वडामा सामुदायिक जलवायु चलचित्र प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको छ । महानगरपालिकाले कार्य सप्ताहमार्फत जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नागरिक सहभागिता, संस्थागत प्रतिबद्धता, लगानी परिचालन र व्यावहारिक कार्यान्वयनलाई एकीकृत गर्ने अपेक्षा गरेको छ । यसबाट काठमाडौं उपत्यकालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम र दिगो सहरका रूपमा विकास गर्ने साझा प्रयासले गति लिने महानगरपालिकाको विश्वास छ ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहीबार