काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले नेपालको इतिहासमै पहिलो पटक एक युवा इन्जिनियर प्रधानमन्त्री बनेको उल्लेख गर्दै सफल कार्यकालको कामना गरेका हुन्। उनले लामो समयदेखि संरचनागत संकटमा रहेको अर्थ–राजनीतिलाई अब नयाँ दृष्टिकोण र व्यवस्थापनको आवश्यकता रहेको औंल्याएका छन्।
भट्टराईले जनताको आकांक्षाअनुसार सुशासन, समावेशी समृद्धि र लोकतान्त्रिक संस्कृतिको विकासतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन्। साथै, डिजिटल प्रविधि र युवापुस्ताको नेतृत्वमार्फत नयाँ युगतर्फ नेपाललाई लैजान सकिने विश्वास व्यक्त गरेका छन्।
उनले भ्रष्टाचार न्यूनीकरण, गुणस्तरीय शासन र प्रतिस्पर्धी लोकतान्त्रिक प्रणाली विकासमा विशेष जोड दिएका छन्।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार