काठमाडौँ । जब शिशिरको ठिहीलाई बिदा गर्दै वसन्तको मन्द समीरले पालुवाहरूमा सुस्तरी काउकुती लगाउन थाल्छ, तब धर्तीले आफ्नो काँचुली फेरेको आभाष हुन्छ ।
प्रकृतिले रङ्गहरूको उत्सव मनाइरहँदा मानिसको मन कसरी अछुतो रहन सक्छ र ? काठमाडौंका साँघुरा गल्लीदेखि फराकिला चोकहरूसम्म अहिले एउटै लय गुञ्जिरहेको छ— ‘फागुको आगमन’ । यो केवल रङ्गहरूको पर्व मात्र होइन, यो त सम्बन्धहरूमा नयाँ रङ्ग भर्ने, मनका मयल पखाल्ने र आत्मीयताको अबिर दल्ने एउटा अलौकिक अवसर हो । यी तस्बिरहरूले त्यही रङ्गीन उल्लासको पूर्वसन्ध्यामा कोरिएका केही जीवन्त रेखाहरूलाई कैद गरेका छन् । काठमाडौंका भित्री गल्लीदेखि शहरका चोकहरूसम्म अहिले रातो, पहेँलो र नीलो रङको आभाले सजिएका छन् । यी तस्बिरहरू केवल व्यापारका दृश्य होइनन्, यी त हाम्रा सांस्कृतिक धरोहर र बाल्यकालका यादहरू ब्युँझाउने जीवन्त रङहरू हुन् ।
यि प्लास्टिकका पिचकारी मात्र होइनन्, यी त बाल्यकालका त्यो रहर हुन् जसले रङ्गीन पानीको फोहोरासँगै आकाश छुन खोज्छन् । बाटामा सजिएका यी विविध आकारका पिचकारीहरूले होलीको हुलमुल र रमाइलोको सङ्केत गरिरहेका छन् । एउटा ठूलो झोलामा थुप्रिएको यो गुलाबी रङले भनिरहेको छ— ‘म तयार छु, कसैको गालामा मुस्कान बनेर पोखिन ।’ यो रङ मात्र होइन, यो त सद्भाव र प्रेमको प्रतीक हो । जसले मनका सबै तुषहरू पखाल्ने सामथ्र्य राख्छ । रातो, पहेँलो, नीलो र हरियो—साना–साना पोकाहरूमा कैद भएका यी रङहरू मानौँ धर्तीमा ओर्लिएका इन्द्रेणी हुन् । एउटा रातो थालीमा सजिएका यी रङहरूले मानिसलाई जात, धर्म र वर्णभन्दा माथि उठेर ‘मानवताको रङ’ मा रङ्गिन निमन्त्रणा दिइरहेका छन् । प्राचीन शहरका गल्लीहरूमा सजिएका यी पसलहरू अहिले फागुमय भएका छन् । झुन्डिएका पिचकारी, थुप्रिएका रङ र खुशी साट्न तयार ग्राहकहरू—यी दृश्यले हाम्रो बजारको जीवन्तता र चाडपर्वप्रतिको अगाध आस्था झल्काउँछन् । सेतो टिसर्टले रङको स्पर्श पर्खिरहेको छ, जसरी एउटा खाली क्यानभासले कलाकारको कुची पर्खिन्छ । रङ्गहरूका यी चाङहरू मात्र थुप्रा होइनन्, यिनमा त मानवीय संवेदनाका विविध आयामहरू लुकेका छन् । रातोमा प्रेम छ, पहेंलोमा विश्वास र गुलाबीमा मृदुता । फुटपाथमा सजिएका यी सामग्रीहरूले भनिरहेका छन्—शहर अब उत्सवको व्यग्र प्रतीक्षामा छ । जहाँ हरेक रङ्गले आफ्नो अस्तित्वको एउटा नयाँ कथा सुनाउन खोजिरहेको छ । ‘आयो होली’ लेखिएका यी टिसर्टहरूले सडकमा एउटा नयाँ ऊर्जा भर्नेछन्, जहाँ हरेक दाग ‘राम्रो’ हुनेछ । यी साना लोलाका पोकाहरूभित्र लुकेको छ—एउटा अवोध बाल्यकाल र साथीभाइसँगको जिस्क्याइँ ।
तस्बिरमा एउटा बाबुले छोरालाई रङको पोका देखाउँदै गर्दा, उनले केवल रङ मात्र बेचिरहेका छैनन्, बरु आफ्नो संस्कार र खुशी हुने बहाना अर्को पुस्तालाई हस्तान्तरण गर्दैछन् । यो तस्बिरले सम्बन्धको गाढापन र चाडपर्वको वास्तविक अर्थ बुझाउँछ । रङहरूले मानिसको जीवनलाई जीवन्त बनाउँछन् । जसरी यी तस्बिरहरूमा देखिएका रङहरूले बजारलाई सुन्दर बनाएका छन्, त्यसरी नै यो होलीले तपाईंको जीवनमा पनि सुख, शान्ति र समृद्धिको रङ भरिनेछ । रिस, राग र द्वेषलाई अबिरसँगै उडाएर आपसी प्रेम र भाइचाराको रङमा रङ्गिन प्रेरित गर्नेछ । जीवन आफैँमा एउटा इन्द्रेणी हो, जहाँ सुख र दुःखका अनेकौँ रङ्गहरू समाहित हुन्छन् ।
फागुले हामीलाई सिकाउँछ कि— रङ्गहरू तब मात्र सुन्दर देखिन्छन्, जब तिनीहरू एक–अर्कासँग मिसिन्छन् । हाम्रो समाज पनि यस्तै रङ्गीन विविधताको संगम हो । मनमा रहेका वैमनश्यताका काला रङ्गहरूलाई पखालेर, रिस र द्वेषलाई अबिरसँगै उडाएर, प्रेम र सद्भावको गाढा रङ्गमा रङ्गिने प्रतिज्ञा गरौँ ।














प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार