काठमाडौँ। नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कुटनीतिक पहल अझ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गरेका छन् । उनले विश्वशान्तीको पक्षमा सधैं उभिएको नेपालका एक नागरिकलाई युद्धको नाममा बन्धक बनाइनु वा बेपत्ता पारिनु गलत मात्र नभई अमानवीय कार्य भएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी वीपीन जोशीलाई घर फर्कनको लागि नेपाल सरकारले गरिरहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा उनको यर्थाथ स्थिति पत्ता लाग्ने र नेपालमा स्वागत गर्न पाउने वातावरण निर्माण गर्न सदनको ध्यानाकर्षण गर्न चाहान्छु । विश्वशान्तीको पक्षमा सधैं खडा भएको नेपालले आफ्नो एउटा नागरिक युद्धको नाममा बन्धक बनाइनु, बेपत्ता पारिनु गलत मात्र होइन अमानवीय कार्य हो । यस्तो कार्य बन्द हुनुपर्छ ।’
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशी बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार