काठमाडौँ। एपिएफले दोस्रो जित निकाल्दै जारी साफ महिला क्लव च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो तेस्रो खेलमा एपिएफले आईतवार कराँची एफसीमाथि १–० को जित निकाल्दै फाइनलनजिक पुगेको हो । साफ राष्ट्रका पाँच क्लब सम्मिलित च्याम्पियनसिपमा लिगको शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ । अब एपिएफसँगै भारतको इस्ट बंगाल र बंगलादेशको नासरिन एफसी तीनै टोलीको मात्र फाइनल पुग्ने सम्भावना छ । तीन खेलबाट एपिएफको सात अंक, इस्ट बंगालको दुई खेलबाट ६ अंक र नासरिनको दुई खेलबाट एक अंक छ । आजको दिनको अन्तिम खेलमा इस्ट बंगाल र नासरिन भिड्नेछन् । यो खेलमा बराबरीको नतिजा आएमा एपिएफ र इस्ट बंगाल शीर्ष दुईमा रहँदै फाइनलमा पुग्नेछ ।
इस्ट बंगालले नै जित निकाल्दा पनि शीर्ष दुईमा पुग्ने दुई पक्का हुनेछ । नासरिनको जित भएमा भने अर्को इस्ट बंगाल र नासरिनको अर्को खेलको नतिजा कुर्नुपर्नेछ । तेस्रो खेलबाट एपिएफले दुई जित र एक बराबरी निकाल्यो । यससँगै एपिएफ सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एपिएफको जितमा रश्मिकुमारी घिसिङको गोल नै निर्णायक बन्यो । लगातार चौथो हारसँगै कराची जितविहीन रहँदै बाहिरियो । चार खेलबाट कराचीले समान दुई बराबरी र हार बेहो¥यो । एपिएफले धेरै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा साँघुरो जित निकाल्यो । ३०औं मिनेटमा कराचीले पहिलो अवसर बुन्यो । पेनाल्टी बक्स बाहिरबाट लाउरेन्स बेरीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।
त्यसको चार मिनेटमा सरु लिम्बूले करिव २२ यार्ड टाढाबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन । ४४औं मिनेटमा एपिएफको डिफेन्स गल्तीमा कराचीले गोल गर्ने अवसर पायो । पेनाल्टी बक्सभित्र हीरा भुजेलको मिस पासमा मोहमौद जेब्राहले नियन्त्रणमा लिइन् । उनले नजिकबाटै गरेको सट एपिएफकी गोलकिपर अञ्जना रानामगरले बचाइन् । पहिलो हाफको थप समयमा एपिएफले लामो दूरीबाट गरेको सट कराचीकी गोलकिपर जियाना जिभराजले रोकिन् । रेनुका नगरकोटीले २२ यार्डबाट गरेको प्रहार सफल भएन । यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । दोस्रो हाफमा एपिएफले सुरुआती अग्रता लियो ।
५२औं मिनेटमा रश्मिको हेडर गोलबाट एपिएफले अग्रता लिएको हो । लेफ्ट साइटबाट रेनुकाले दिएको क्रस सदुपयोग गर्दै रश्मिले गोल गरिन् । ५८औं मिनेटमा कराचीले उत्कृष्ट अवसर बुन्यो । एपिएफकी गोलकिपर अञ्जनाअगाडि बढेको अवस्थामा कराचीकी सुहा हिरानीले दोस्रो बार च्याप्दै सट प्रहार गरिन् । तर, अञ्जनाले त्यो प्रहार असफल बनाइन् । ६५औं मिनेटमा रश्मिकुमारीले गोल गर्ने उत्कृष्ट अवसर गुमाइन् । सरुको उत्कृष्ट थ्रु बललाई नियन्त्रणमा लिए पनि रश्मिकुमारीले फितलो प्रहार गरिन् । पेनाल्टी बक्स भित्रबाट उनले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरेकी हुन् ।
६९औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाउने प्रयास कराचीकी गोलकिपर जियानीले असफल बनाइन् । करिब आठ यार्डबाट रश्मिको सट जियानीले उत्कृष्ट बचाउ गरिन् । एपिएफले ७०औं मिनेटमा उत्कृष्ट गोल अवसर बुन्यो । निशा थोकरले लामो दूरीबाट गरेको प्रहार जियानीले मुस्किलले पन्च गर्दै बाहिर पठाइन् । त्यसपछि पनि गोल हुन सकेन र एपिएफले दोस्रो जित निकाल्यो । एपिएफले पहिलो खेलमा नासरिनलाई हराउँदै भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार