Trending
>>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री >>   सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल >>   उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

संसदीय समितिमा उठ्यो विदेशस्थित नेपाली राजदुत र कुटनीतिक नियोगहरूमाथि प्रश्न


काठमाडौँ। संसदीय समितिका सदस्यहरूले विदेशस्थित नेपाली राजदुतहरू र कुटनीतिक नियोगमाथि प्रश्न उठाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो प्रश्न उठाएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले विदेशस्थित नेपाली नियोग र राजदुतहरूको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले वैतनिक र अवैतनिक दुवै किसिमका नियोगहरूबाट ठोस उपलब्धि के प्राप्त भएको हो भन्ने विषयमा सरकारसँग जवाफ मागे । उनले नियोगमा खटिने व्यक्तिहरूलाई तालिम दिइन्छ कि दिइँदैन भन्ने प्रश्न समेत गरेका छन् । उनले उनीहरूलाई चेक लिस्ट दिइन्छ वा दिइँदैन भन्ने प्रश्न गर्दै सरकारले समीक्षा गर्नुपर्नेमा जोड दिए । सांसद आचार्यले विदेशस्थित नेपाली राजदुतहरूको कार्यसम्पादनको मूल्याङ्कनको बारेमा स्पष्टता समेत खोजे । उनले आर्थिक विकासका लागि सहयोग जुटाउने, श्रमिकको सुरक्षा गर्ने, तथा अन्तर्राष्ट्रिय फोरमहरूसँग सहकार्य गर्ने विषयमा पनि राजदुतहरूको भुमिका स्पष्ट हुनुपर्ने धारणा राखे ।

उनले भने, “विदेशमा बसेका हाम्रा जति पनि नियोगहरू छन्, वैतनिक, अवैतनिक खालका छन् । कसैलाई त हामी अवैतनिक दूतको रूपमा पनि नियुक्त गरेका छौँ । उनीहरूले के के गर्दै छन् ? त्यसको उपलब्धिहरू के प्राप्त भएको छ ? हामीले उनीहरूलाई तालिम दिएर पठाउँछौँ कि पठाउँदैनौ ? वा कामको चेक लिस्ट दिएर पठाउँछौँ कि पठाउँदैनौ ? र त्यो चेक लिस्टको आधारमा के के सम्पन्न भयो हामी समीक्षा गर्छौ कि गर्दैनौँ ? जति पनि देशमा हामीले राजदुतहरू पठाएका छौँ, उनीहरूको उपलब्धि के छ ? प्रयत्नहरू कस्तो भइरहेको छ ? सफल छ कि छैन ? चेक लिस्टको आधारमा कसरी मार्किङ गरिरहेका छौँ ? इकोनिमीक डेभलपमेन्टको लागि सहयोग प्राप्त गर्ने ? हाम्रा श्रमिकहरूको रक्षा कसरी गर्ने ? वा अरू विभिन्न खालका फोरमहरूमा उनीहरूसँग सहयोग कसरी लिने ? लगायतका कुराहरूमा के कस्ता भइरहेको छ भन्ने मेरो प्रश्न हो ।”

समिति बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि विदेशस्थित नेपाली द्तावासहरूको कामप्रति गम्भीर प्रश्न उठाए । उनले विभिन्न देशहरूमा कार्यरत नेपाली राजदुतहरूबारे टिप्पणी गर्दै उनीहरू सुतेर बसेको जस्तो देखिने आरोप लगाए । साहले विदेशस्थित नेपाली दुतावासहरूबाट अपेक्षित काम नदेखिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारमा गएका नेपाली कामदारको सुरक्षामा समेत दूतावासहरू चुकिरहेको आरोप लगाए । साथै, उनले राजदूतहरू अयोग्य भएको योजनाविहीन बनाइएको हो भन्ने विषयमा सरकारको जवाफ माग गरे ।

उनले भने, “हाम्रो राजदूतहरू विभिन्न देशहरूमा छन्, उनीहरू सुतेर बसेको जस्तो देखिन्छ । ती अयोग्य हुन कि तिनीहरूमा योजना छैन ? योजना छैन भने परराष्ट्र मन्त्रालय के गरेर बसेको छ ? योजना दिइएको छ भने ती राजदूतहरू किन काम गर्दैनन् ? ती देशहरूमा हाम्रा कामहरू छन्, यत्तिकै दूतावास त खोलिएको छैन । यदि दूतावास कामकै लागि खोलिएको हो भने काम त केही पनि देखिँदैन । एउटा कामदार नेपालीको रक्षा र सुरक्षा गर्न नसक्ने, ती राजदुतहरूलाई के भन्नेबारे प्रश्न आउँछ । त्यसैले हामीले अयोग्य राजदुत छानेका छौँ कि, योजनाविहीन बनाएका छौँ यस विषयमा पनि प्रस्ट पार्न आग्रह गर्न चाहन्छु ।”

समिति बैठकमा एमालेकी सचेतक सुनिता बरालले पनि वैदेशिक नियोगमा कार्यरत नेपाली राजदुतहरूको व्यवहार र उपस्थितिमाथि गम्भीर टिप्पणी गरीन् । उनले केही राजदुतहरूको कार्यशैलीले देशको प्रतिष्ठामाथि असर पारिरहेको बताईन् । उनले देशबाट ठूलो अपेक्षा गरेर राजदुतहरू पठाउने गरिए पनि कतिपय स्थानमा औपचारिक पोशाक लगाएर उपस्थित हुने मामिलामा पनि कन्जुस्याइँ गरेको देखिएको बताईन् । सांसद बरालले राजदुतहरूको उपस्थिति र प्रतिनिधित्व शैलीले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने बताईन। उनले सरकारको आर्थिक कूटनीति योजनामाथि प्रश्न उठाउँदै स्पष्ट योजना, जिम्मेवारी र अनुगमनसहित दुतावासहरूलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिएकी छिन् ।

उनले भनीन् , “हामीले देशबाट यति धेरै अपेक्षा गरेर राजदूतहरू पठाउँछौँ, यहाँबाट मन्त्रीहरूको भिजिट हुँदासम्म राजदुतहरूको उपस्थिति अनौपचारिक रूपमा जस्तो देखिन्छ । कतिपय ठाउँमा त फर्मल ड्रेस लगाएर उपस्थित हुने कुरामा पनि उहाँहरूले कन्जुस्याइँ गरेको देखेँ । हामीले त्यो देशमा पठाएका राजदुतहरूको उपस्थिति वा प्रतिनिधित्वको कस्तो छ स्केच भन्ने कुराले त्यो देशमा हाम्रो देशको प्रभावलाई स्थापित गर्छ । त्यस कारण हाम्रा नियोगहरूले कसरी काम गर्दै छन् भन्ने कुराको यो उदाहरण हे¥यौ भने इकोनोमिक डिप्लोमेसीको जुन प्लानिङ हामी गरिरहेका छौँ, त्यहाँ सक्सेस हुन कति अप्ठ्यारा छन् होला भन्ने कुरा लेयर अफ प्रबलम हामीले थाहा पाउन सक्छौँ, त्यस कारण यसमा केही स्पेसिफिक भएर व्यवस्थित योजना बनाएर काम गर्नुपर्ने अनुभुति मलाई छ ।”

शुक्रवारको समिति बैठक वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्न बोलाइएको थियो । वैदेशिक कुटनीति र दुतावासहरूको भुमिकामाथि सांसदहरूको प्रश्न र टिप्पणीले सरकारको कुटनीतिक संरचनामै गम्भीर प्रश्न उठाएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?