
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वदेशी काठको सट्टा विदेशी काठ फर्निचरका रूपमा आयात हुने समस्यालाई समाधान गर्न सरकारले नीतिगत सुधार गर्न थालेको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गर्न अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा समेत आवश्यक व्यवस्था गरिएको बताए । उनले वनभित्र ढलेका तथा सुकेका रुखहरुको उपयोग गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक अनुदान समेत व्यवस्था गरिने दाबी गरे । मन्त्री ठकुरीले विगतमा कमजोर कानूनी संरचनाका कारण वन व्यवस्थापनमा कठिनाइ आएको उल्लेख गर्दै वनसम्बन्धी कानूनहरुमा आवश्यक संशोधनको काम भइरहेको बताए ।
उनले भने, ‘विभिन्न कारणहरुले गर्दा हाम्रो स्वदेशी काठको उपयोगभन्दा विदेशी काठहरु फर्निचरको रुपमा भित्रिएर यसले हाम्रो काठलाई विस्थापित गरेको पाइएको छ । यसलाई मध्यनजर गरेर वन तथा वातावरण मन्त्रालयले नीति र कार्यक्रम तथा बजेटमा ढलेका काठको उपयोग गर्ने र वनमा ढलेका तथा सुकेका काठहरुको उपयोग गर्ने भनेर नीति र बजेटमा पनि आएको अवस्था छ । यसको लागि सरकारले अनुदान दिने व्यवस्था पनि अहिले भएको छ । त्यस्तो गर्न सकियो भने हाम्रो काठहरु देशभर प्रयोगमा आउँछ । र विदेशी काठ आयात विस्थापित हुँदै जान्छ भन्ने हाम्रो विश्वास छ । विगतमा हाम्रो नियम र कानूनमा समेत केही कठिनाईहरु थिए । अहिले हामीले विभिन्न रणनीतिहरु पनि पास गरेका छौँ । त्यतिबेलाका नीतिहरु कडा नभएको भए वनको यति राम्रोसँग व्यवस्थापन गर्न सकिदैन्थ्यो भन्ने लाग्छ । अब समयक्रमअनुसार वनसँग सम्बन्धित कानूनहरु परिमार्जन गर्दै जानेछौँ ।’
सरकारले स्वदेशी काठको उपयोग बढाएर आयातमा निर्भरता घटाउने नीति अवलम्वन गरिरहेको मन्त्री ठकुरीको भनाइ छ ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार