
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीलाई प्राथमिकता नदिन अनेरास्ववियुलाई आग्रह गरेका छन् ।
आईतवार अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिमा जान छुट भएपनि गुट बनाएर प्रतिष्पर्धा नगर्न आग्रह गरेका हुन् । उनले माधव नेपालतर्फ इंगित गर्दै एकीकृत समाजवादी गुटगत प्रवृत्तिको उपज भएको दाबी गरे । एमालेमा तीन दशकसम्म नेतृत्व गरेकाहरुले नै एमालेलाई धुलोपिठो बनाउँछौं, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छौं भन्दै हिँड्ने अवस्था गुटबन्दीकै परिणाम भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले विद्यार्थीलाई एकतावद्ध भएर जान आग्रह गर्दै एकतावद्ध हुनसक्ने अवस्था नभएमा लोकतान्त्रिक पद्धतिमा जाने छुट भएको तर, लोकतन्त्रका नाममा गुटबन्दी गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।
उनले भने, ‘केही गफाडीहरु अहिले हामीलाई लोकतन्त्र सिकाउन फुत्त निस्किरहेका छन् । लोकतन्त्र के हो र कसरी रक्षा गर्नुपर्छ भनेर । पार्टीमा झ्याम्टा बजाई भयो भने लोकतन्त्र हुने र झ्याम्टा बजाइ भएन भने लोकतन्त्र नहुने भन्ने हुँदैन । एकताबद्ध भएर लोकतन्त्र ल्याउने कुरा महत्वपूर्ण हो । भावनामा बगेर कुद्ने होइन । एकताबद्ध भएर जानुस् मेरो सुझाव हो, एकताबद्ध हुनसक्नुभएन भने लोकतान्त्रिक पद्धतिमा जानुस् । तर, गुट बनाएर नजानुस् त्यो पछिसम्म कायम रहिरहन्छ । म भन्न चाहन्छु गुट बनाएर हिड्ने काम गर्नुहुँदैन । र, गुट बनाएपछि कस्तो हुन्छ भने मान्छेले गुटलाई माया गर्ने, पार्टीलाई नगर्ने हुन जान्छ । अहिले एकीकृत समाजवादी भनेर बनाएको छ नि एउटा पार्टी त्यही गुटगत प्रवृत्तिले त्यहाँ पु¥याएको हो । यही पार्टीमा वर्षौसम्म नेता भएकाहरुले नै एमालेलाई धुलोपिठो बनाएर छाडिदिन्छु, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्दै हिँडे जसले पार्टीमा तीन दशक नेतृत्व गरे । त्यसकारण गल्तीको बाटो एक पाइलो पनि नहिड्नुस् हिडिहाल्नु भो भने फर्की हाल्नुस् । पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछाड्नुस् । त्यसकारण सही विचार अंगालेर अगाडि बढ्नुस् ।
उनले पार्टीभित्र झ्याम्टा बजाइ भयो भने लोकतन्त्र हुने र झ्याम्टा बजाई भएन भने लोकतन्त्र नहुने भन्ने तर्क उचित नभएको भन्दै पार्टीभित्र र बाहिर फाटो ल्याउने तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गरे ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार