Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह


काठमाडौँ। नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवारको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरेर नागरिकताको विषय अघि बढाउन आग्रह गरेका हुन् । उनीहरुले नेपालको छिमेकमा दुई धेरै जनसंख्या भएका देशहरु रहेको कुरा नबिर्सिन आग्रह गरे । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको हो । जसमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नागरिकताको कुरा अत्यन्त गम्भीर रहेको बताएका छन् । मुलुकको सीमाखुला रहेको र वाह्य देशहरुबाट नेपालमा आएर बस्ने मानिसहरु बढेको कुरा मनन गर्न आग्रह गरे । उनले वंशजको नागरिकता पाउनको लागि आमा वा बाबु वंशजकै नागरिक हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने बताए ।

अध्यक्ष केसीले भने , ‘नेपालमा नागरिकताको कुरा अत्यन्त गम्भीर छ । मुलुकको सीमाखुला छ । अर्कोतिर वाह्य देशबाट मान्छेहरुको ओहिरो लागेको छ । त्यो हामी सबैलाई थाहा छ । वंशजको नागरिकता पाउनको लागि आमा वा बाबु वंशजकै नागरिक हुनुपर्छ । त्यसबाट जन्मिएकोलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ । यहाँ त विभिन्न देशका मान्छेहरु आएर बसिरहेका छन् । त्यही कुरा अरु देशमा जाँदा हामीलाई मिल्दैन । अनि नेपालमा यहाँ विदेशीहरुले पनि वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा आइरहेको छ । यसले नेपाललाई राम्रो गर्दैन । स्पष्ट के हो भने नेपालमा वंशजको नागरिकता पाउनको लागि आमा र बाउ नै वंशजको हुनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नागरिकता दिने विषय वास्तवमा आफ्नो आफ्नो मुलुकको अवस्थाअनुसार जानसांख्यिक, भौगोलिक, परिवेश अनुरुप हुने बताए । उनले नागरिकता पाउनुपर्ने कोही नछुटुन् र नपाउनेले पाउनु हुँदैन भन्नेकुराको ध्यान राख्नुपर्ने बताए । आमाको नामबाट दिनुपर्ने कुरामा पनि केही विमति नरहेको र बुबाको पहिचान नभएको र सम्पर्कमा नभएकोहरुलाई पनि दिनेकुरा विधेयमा गरिएको बताए । पाउनै नपर्ने मान्छेले लिने कोशिस गरेको हो भने त्यसलाई एउटा सजायको व्यवस्था हुुनपर्ने बताए ।

सांसद बडूले भने, ‘नागरिकता दिने विषय वास्तवमा आफ्नो आफ्नो मुलुकको अवस्थाअनुसार जानसांख्यिक, भौगोलिक, परिवेश होला । त्यसअनुसार नै हुने हो । कसैले धेरै खुला पनि गर्दछ भने कसैले आफ्नो अवस्थाअनुसारको कानून बनाउने गर्दछ । नागरिकता पाउनुपर्ने कोही नछुटोस् । नपाउनुृपर्नेले पाउने अवस्था खुला धेरै हुन्छ की भन्ने हो । त्यतातिर शतर्क हुनुपर्छ । आमाको नामबाट दिनुपर्ने कुरामा पनि केही विमति रहेन । बुबाको पहिचान नभएको र सम्पर्कमा नभएकोहरुलाई पनि दिने भन्ने आइसकेको छ । पाउनै नपर्ने मान्छेले लिने कोशिस गरेको हो भने त्यसलाई एउटा सजायको व्यवस्था गर्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले ब्रिटिश गोरखालाई नागरिकता दिने कुरा एनआरएनएको जस्तो नभएको बताए । राज्यले सन्धी सम्झौता गरेर पठाएको हुनाले उनीहरुलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गरे ।

सांसद राईले भने, ‘ब्रिटिश गोरखालाई नागरिकता दिने कुरा एनआरएनएको जस्तो होइन । राज्यले सन्धी सम्झौता गरेर राज्यले पठाएका हुनाले उहाँले जे विषय भनिरहनुभएको छ । वंशजको नागरिकता त्यो हामीले दिनुपर्छ । उनीहरु आफैँ गएका त होइनन् । राज्यले अनुकुलतामा उनीहरुको प्रयोग गरेको छ । उनीहरुको माग जायज छ । हामीले यसलाई पनि सम्बोधन गर्नुपर्छ ।’

नेपाली काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले कोही नेपाली नागरिक अनागरिक हुन नहुने र छल कपट गरेर नागरिकता लिएकाहरुलाई कारबाही गर्नुपर्ने बताए । ब्रिटिश गोरखा भर्तीमा जानेहरुको बारेमा उनीहरुका मागहरु सम्बोधन गर्न जरुरी रहेको बताए ।

सांसद न्यौपानेले भने, ‘कोही पनि नेपालीहरु अनागरिक नहुन्, जो नेपाली छैनन् । छल कपट गरेर नागरिकता लिइरहेका छन्, त्यसको बाटो कसरी रोकिन्छ, रोक्नलाई भरसक प्रयास गरौँ । ब्रिटिश गोरखा भर्तीमा जानेहरुलाई राज्यले नै पठायो तर नेपाली हुन चाहेर पनि नेपाली नहुने परिस्थिति बन्छ की भन्ने उहाँहरुको विषय छ, नेपाल प्रतिको जुन माया छ, सम्मान छ, त्यसलाई कसरी सम्मान गर्न सकिन्छ, त्यो गरौँ ।’

नेपाली काँग्रेसकै सांसद हृदयराम थानीले नेपाली नागरिकलाई नागरिकता दिन कन्जुस्याँई गर्न नहुने तर शतर्कता अपनाउनुपर्ने बताए । दुई ठूला मुलुकहरुको बीचमा नेपाल रहेकाले पनि सबैलाई नागरिक दिँदा कागजपत्रमा कडाइ गर्न जरुरी हुने बताएका छन् । बाबुको पहिचान नभएको अवस्थामा आमाले सन्तानलाई नागरिकता दिलाउँदा कुनै पनि झन्झट र समस्या नहुनेगरी ऐनको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद थानीले भने, ‘नेपाली नागरिकले नागरिकता पाउनैपर्छ, त्यसमा कुनै कन्जुस्याँई गर्नु हुँदैन, कसैले पनि रोक्ने काम गर्नु हुँदैन । रोक्न पनि हुँदैन । ऐन ढुंगामा लेखिएको कुरा पनि होइन । यसलाई चेन्ज गर्न सकिन्छ । तर चेन्ज गर्दा हामीले अत्यन्तै बुद्धि, विवेक लगाउनुपर्छ । हामी अहिले दुई ठूला मुलुकहरुको बीचमा पनि छौँ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ । राष्ट्रियता, सुरक्षा धेरै कुराहरु मिलाएर लैजानुपर्ने अवस्था छ । बाबुको पहिचान नभएको अवस्थामा आमाले सन्तानलाई नागरिकता दिलाउँदा कुनै पनि झन्झट र समस्या नहुनेगरी ऐनको व्यवस्था गर्नुपर्छ । तर अफ्ठ्यारो परेको कोही पनि बालबच्चा बाँकी नरहुन् ।’

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले अनाथालयमा रहेका बालबालिकाहरुको माता,पिताको ठेगान नरहेकाहरुलाई अध्ययनसँगै विभिन्न समस्या आइरहेको बताए । उनीहरुलाई सहज तरिकाले नागरिकता दिनुपर्ने बताए ।

सांसद श्रेष्ठले भने, ‘कहीँ कतै अनाथालयमा बालबच्चाहरु छन् । आमाबाउको ठेगान छैन । ति त विशुद्ध नेपालको धर्तीमा, नेपालको भूमिमा जन्मिएर बाउ, आमा ठेगाना नभएर अनाथालय लगायत त्यस्तो ठाउँमँ बसिरहेका छन् । अब पढ्दै पढ्दै गयो, एसइइ पास ग¥यो अब उच्च शिक्षासहितको त्यो स्टेपमा जानको लागि उसँग नागरिकता नै छैन । यस्तो स्थितिमा गलत नहोस्, कोही विदेशीले नेपालको नागरिकता नपाओस् । कोही नेपाली नागरिक नागरिताबाट वञ्चित नहोस् । यो कुरा अलिकति जटिल छ ।’

कोही नेपाली नागरिक नागरिताबाट वञ्चित नहोस् भन्नेमा राज्य शतर्क रहनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?