
काठमाडौँ। सन् १९६४ देखि २०२४ सम्म नेपालको ओलम्पिक सहभागितालाई समेटिएको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधवार एक कार्यक्रमका बीच विमोचन भएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंहलगायत कुल १५ जनाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । उक्त पुस्तकमा पारालिम्पिक, समर तथा ग्रीष्मकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे उल्लेख छ । खेलाडीहरूको संक्षिप्त जानकारी तथा उपलब्धि उक्त पुस्तकमा समावेश रहेको राखेप प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।
पेरिस ओलम्पिकलाई केन्द्र बनाएर उक्त पुस्तक प्रकाशित गरिएको छ । हालसम्म सहभागी खेलाडीको विवरण पुस्तकमा समेटिएको छ । राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदको इतिहासलाई जीवन्त राख्न यो पुस्तकले सहयोग पुर्याउने बताए । चार पटकसम्म भाग लिएका ओलम्पियन वैकुण्ठ मानन्धरले खेलाडीहरूलाई सबै नागरिकसम्म पुर्याउने काम पुस्तकले गर्ने आशा व्यक्त गरे । अर्का ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरी सकेको प्रचार शाखाका प्रमुख दाहलले जानकारी दिए ।
उक्त कार्यक्रममा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई उत्प्रेरणा गर्नुका साथै खेल सामाग्रीसमेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार