Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकाे सम्बन्धः उहिलेकाे हार्दिकता,अहिलेको मौनता !


काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबीच त्यो हार्दिकता, एकै वर्ष एक–अर्काको पारिवारिक समारोहमा सरिकको अहिलेपनि चर्चा ! राजसंस्थाको विधिवत अन्त्य भई गणतन्त्र घोषणा (२०६५ जेठ १५) भएको आज १६ वर्ष व्यतित भैसकेको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले गद्दी त्यागकै डेढ दशक नाघिसकेको छ । अहिले एक्कासी देशमा राजा फर्काउने आन्दोलन चर्किएको छ । यसरी राजावादीहरु सडकमा आउनुमा पूर्वराजा ज्ञानेन्द्रको यही वर्षको फागुन ७ गतेको प्रजातन्त्र दिवसको शुभकामना मूल कारण बनेको छ ।

ज्ञानेन्द्रले देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै आफूहरुलाई साथ दिन जनतासँग अपिल गरेपछि नै अहिले राजसंस्था फर्काउने नारा चर्किएको छ। रक्तपातविहीन दरबार छोडेका ज्ञानेन्द्र शाह देशभित्र र देशबाहिर बेला बेलामा निस्किने गर्दै आएका थिए । शाहले विगत वर्षहरुमा पनि पृथ्बी जयन्ती, प्रजातन्त्र दिवसलगायतका मुख्य दिनमा आफ्नो तर्फबाट शुभकामना सन्देश प्रवाह गर्ने गरेका थिए । तर, यस वर्ष भने उनले झण्डै दश मिनेट लामो भिडिओ–सन्देश प्रवाह गरेका थिए । उनले यस वर्षको प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा आफूहरुले गरेको त्यागको विषयमा स्मरण गराएका थिए ।

उनले भनेका थिए,‘देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुने छ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ।’ सन्देशमा उनले अघि भनेका थिए,‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो हामी तयार छौँ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ।’ज्ञानेन्द्रले राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूहरुलाई साथ दिन आह्वान गरेपछि एकाएक राजनीतिक माहोल तातियो । गणतन्त्रवादीहरुले प्रतिक्रिया पनि जनाए । कतिसम्म भने उनी पोखराबाट काठमाडौं आउँदा त सडकमा उनको पक्षमा हजारौंको संख्यामा उपस्थित् भएर नेपाली जनताले ठूलो सन्देश दिए । अहिले राजनीति राजावदाी भर्सेस गणतन्त्रवादीमा विभाजित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्म प्रतिक्रिया दिइरहेका छन् । कतिसम्म भने प्रचण्डले त पूर्वराजाविरुद्ध “मूर्तिचोर र भाइमारा”, सुन तस्करीको नाईकेको संगीन आरोप लगाएका छन् । प्रचण्ड यतिमामात्रै रोकिएनन, उनले ज्ञानेन्द्रविरुद्ध दरबार हत्याकाण्डको समेत आरोप लगाउँदै छानबिन आयोग बनाएर कारबाही गरिनेसम्मको उद्घोष गरेका छन् ।

राष्ट्रिय राजनीतिमा अत्यन्तै कम बोल्ने नेताका छवि बनाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने खासै प्रतिक्रिया दिएका छैनन् । उनले नेपालमा अब राजसंस्था फर्कन नसक्ने ठोकुवामात्रै गरेका छन् । ज्ञानेन्द्रमाथि व्यक्तिगत तहमा उत्रिएर कुनै कमेन्ट गरिसकेका छैनन् । प्रधानमन्त्री ओलीले भने ‘हु आर यु’ भन्दै राष्ट्रिय मिडियामार्फत नै ज्ञानेन्द्रमाथि प्रश्न तेर्साएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सडकमा तमाशा गरिएको र संविधानविरोधी हर्कत भएको भन्दै सरकारले सहेर नबस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाललाई अब पछि फर्काउने कुरा र एउटा व्यक्तिमा जनताको सार्वभौमसत्ता सुम्पिने कुरा स्विकार्य नभएको भन्दै राजसंस्थाको वकालत गर्नेहरुलाई कडा चेतावनी दिएका छन् । प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले त राजावादीहरुविरुद्ध सडकबाटै काउन्टर जवाफ दिने घोषणा गरिसकेको छ । यो समाचार तयार पार्दासम्म समाजवादी मोर्चाले आन्दोलनको घोषणा गर्दै जनतालाई आफूहरुको आन्दोलनमा एकाकार हुन अपिल गरिसकेको छ ।

रोचक त के छ भने सडकमा राजावादीहरुले दिनदिनै आन्दोलन गर्दा र राजा फर्काउने कुरा गर्दा पूर्व राष्ट्रपतिहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजावादीहरुको आन्दोलनको विषयमा खुलेर प्रतिक्रिया जनाएका छैनन् । उनीहरुको पदीय हैसियतले पनि त्यो प्रतिक्रिया नदिईएको होला भन्न सकिन्छ ।
तर, गणतान्त्रिक व्यवस्थाको सर्वोच्च पद (राष्ट्रपतिको चेयर) मा आसिन भैसकेका व्यक्तित्वहरु नबोलिकन बस्नुलाई भने राजसंस्था फालेर गणतन्त्र ल्याउने आन्दोलनमा योगदान दिएकाहरुले नमिठो मानेका छन् । अहिले सञ्जालतिर यादव र भण्डारीको मौनताको विषयमा हल्काफुल्का चर्चा सुरु भएको छ । कतिपयले यादव र भण्डारीलाई ज्ञानेन्द्रको सक्रियताको विषयमा आफ्नो धारणाा सार्वजनिक गर्न सञ्जालबाटै सुझाउन थालेका छन् ।

गणतान्त्रिक नेपालको यो यात्रामा रोचक त के छ भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको हेडक्वार्टर मानिएको शितलनिवासमा न्यानो आतिथ्यता प्रदान गरिएको इतिहास छ । विद्या भण्डारी राष्ट्रपति हुँदा उनकी छोरी निशाकुसुमको वैवाहिक समारोहमा पूर्वराजा ज्ञानेन्द्र अतिथिको रूपमा सरिक थिए । शिलतनिवासमा पुगेर वर-वधुलाई शुभकामना दिएका ज्ञानेन्द्रसँग त्यतिवेला राप्रपा नेताहरु र पूर्व प्रधानसेनापतिले एउटै टेबुल सेयर गर्दै भलाकुसारी गरेको तस्विर बाहिरिएको थियो ।

यो सन् २०१७ को जनवरी १६ को दिन थियो । उक्त विवाह समारोहमा ज्ञानेन्द्रको उपस्थिति समाचारको केन्द्र बनेको थियो । तीन महिना नबित्दै सन् २०१७ कै अप्रिल ६ तारिखमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको व्रतबन्धको उपलक्ष्यमा सोल्टी होटलमा आयोजित रिसेप्सनमा तत्कालिन राष्ट्रपति भण्डारी पनि पुगेका थिईन् । उनलाई सोल्टी होटलमा ज्ञानेन्द्र शाहले स्वागत गरेको तस्विर त्यस दिनको समाचारको अर्को आकर्षणको केन्द्र थियो ।

पूर्वराजा ज्ञानेन्द्र र तत्कालिन राष्ट्रपति भण्डारीबीच हार्दिक सम्बन्ध थियो । एक-अर्काको पारिवारिक समारोहमा भाग लिएर दुवै व्यक्तित्वले आफूहरुबीचको सम्बन्धको हार्दिकता दर्शाएका थिए । रोचक त के छ भने भण्डारीकी छोरीको विवाह समारोहको पारिवारिक पक्षकै रुपमा प्रथम राष्ट्रपति रामवरणपनि सरिक थिए । भण्डारीकी छोरी निशाकुशुमले प्रथम राष्ट्रपति यादवकी भतिजी किरण यादवका छोरा अभिषेष्क यादवसँग विवाह गरेकी हुन् ।

अहिले प्रथम राष्ट्रपति यादवभन्दा पूर्व राष्ट्रपति भण्डारी नै बढि सक्रिय छिन् । उनी एमालेको सक्रिय राजनीतिमा फर्किनेपनि चर्चा चलिरहेको छ । राष्ट्रिय पर्व, दिवस तथा महत्वपूर्ण सन्दर्भमा भण्डारीले आफ्नो शुभकामना मन्तव्यसमेत राख्दै आएकी छिन् । उनले यसअघि गण्डकी र कोशी प्रदेशको भ्रमणसमेत गरिसकेकी छिन् । अब छिट्टै लुम्बिनी र मधेश प्रदेशको भ्रमण गर्ने भनिएको छ । एमालेको सक्रिय राजनीतिमा आउनुअघि भण्डारीबाट वार्म–अप भिजिट भैरहेको भनेरपनि बेला-बेलामा चर्चा हुने गरेको छ । उनी आँफै स्वयमले एमालेको सक्रिय राजनीतिमा फर्किने सम्भावना जिवितै रहेको संकेत दिँदै आएकी छिन् ।

राष्ट्रपतिको रुपमा दुई कार्यकाल चलाएको र सक्रिय राजनीतिमा फर्किएर देशको नेतृत्व लिने सम्भावना बोकेको व्यक्तित्व विद्या भण्डारीले अहिलेसम्म व्यवस्थामाथि चूनौति दिनेगरि सडकबाट धावा बोलिएको अवस्थामा समेत कुनै प्रतिक्रिया नजनाउनु दुःखको विषय हो । शितलनिवासमा ज्ञानेन्द्रको स्वागत अनि सोल्टी होटलमा विद्याको स्वागतको त्यो तस्विर अनि अहिलेको मौनताले प्रश्न र शंका एकैसाथ उब्जाएको चर्चा छ ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?