Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नेपालको लागि अभिशाप नेपाल एयरलाइन्सको टिकट सय चोटि सोचेर मात्र लिनेछु !


  • खड्ग बहादुर श्रेष्ठ (पूर्व सहायक सिडियो, काठमाडौ जिल्ला प्रशासन कार्यालय )

यो नेपाल एयरलाइन्स नेपालको लागि अभिशाप नै बनिरहेको छ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ, स्पष्ट छ। यात्रुहरू टन्टल छन्, तर न भनेको समयमा भनेको ठाउँसम्म पुर्याउने कुनै सुनिश्चितता छैन। खाली छल-छाम, आफैले पनि नगर्ने अरूलाई पनि गर्न नदिने। शिवजीका साढे जस्तै बलवान र अटेरी। यात्रामा नेपाल एयरलाइन्सले दिएको पीड़ा सायद बिर्सन सकिन्न। म परिवार सहित एक हप्ताको निजी कामको लागि भारतको बैंगलोर जानको लागि सजिलो र खर्च पनि अन्य विकल्पहरू भन्दा सस्तो देखिएको कारण नेपाल एयरलाइन्सको टिकट लिनको लागि पटक-पटक प्रयास गरेपछि माघ २५ गतेको लागि टिकट बुक भैसकेको थिए। तर उक्त उडान रद्द भएपछि फागुन ६ गते दिल्लीसम्म नेपाल एयरलाइन्स र दिल्लीबाट बैंगलोरसम्म इन्डियन एयरलाइन्स जाने र फर्कने दिन १३ गते ४:५० बजे बैंगलोरबाट काठमाडौँ सिधा आउने गरी दोहोरो टिकट सुनिश्चित गरियो। भने अनुसार उता जादा लामो ट्रान्जिटमा बसेर रातको १२ बजे गन्तव्यमा पुग्दा पनि खासै मन दुखित भएको थिएन। दुखका दिन भनेको फर्कने दिनदेखि सुरु भयो। नियम अनुसार लैजानुपर्ने तौल अनुसार सबै सामान लगेजमा राखेर १३ गते फर्कने घरमा समयमै पुगिने आशामा एक्कासी तुसारापात भयो जब जहाजको उडान रद्द भएको खबर आयो।

भोलीपल्ट बिहान ४ बजे जहाज आउने भन्ने खबर आयो। खासै आधिकारिक खबर नभएको तर जहाज अब बैंगलोरमा नआउने, दिल्लीमा पनि कहिले आउने भन्ने निश्चित नभएको, तर भोली १४ गतेको लागि तयारी रहनु भन्ने सूचना पाइयो। हामी बसेको स्थान एयरपोर्टबाट करीब ३९ किलोमिटर टाढा भएकोले राति १२ बजेनै कुद्नु पर्ने थियो। त्यसैले सोहि अनुसार तयारी थियो। यहाँसम्म हाम्रो टिकट काटिदिने एजेन्टसँग राम्रो सम्बन्ध भएको कारण सम्पर्क र सूचना पाउन सजिलो भैरहेको थियो। फेरि जहाज बिहान नआउने बरु दिल्लीबाट ४:३० मा उड्ने, त्यहाँसम्म अर्को जहाजमा आउनु पर्ने वा अन्य जहाजबाट नेपाल गएर पैसा फिर्ता लिनुपर्ने कुरा आयो। जहाज आउने निश्चितता चाहिँ हुन सकेन। १५ गते पनि त्यस्तै अन्योल रह्यो। यसै बीच नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव आदरणीय विनोद प्रकाश सिंह सरलाई अन्योलताको बारेमा सानो सन्देश म्यासेज गरे। तर सरले जवाफ दिएनन्। यद्यपि, कसरी फर्कने भनेर प्रयास गर्न भने म छोडिन। १५ गते बेलुका आशाजनक तर कम विश्वासका साथ खबर आयो कि १६ गतेको दिन ४:३० बजे नेपालको जहाजबाट काठमाडौँ जाने र दिल्लीको लागि बैंगलोरबाट बिहान ९:४५ को इन्डियन एयरलाइन्सको जहाजको टिकट एजेन्टले पठाए। उहाँहरूलाई पनि हामीलाई कसरी नेपाल पठाउने भन्नेमा चिन्ता थियो र हामीलाई सहज पनि भयो। लामो समय ट्रान्जिटमा बस्नुको असहजता भने कम थिएन। १६ गते ४:३० बजे फ्लाइट पनि नेपालमा मौसमको कारण डिले भएकोले मनमा म लगायत सयौं यात्रुहरूको मन बिचलित भैरहेको थियो। अन्ततः प्लेन ढिलै भए पनि आयो। ८:०५ बजे हाम्रो ध्वजवाहक विमानले हामीलाई लियर नेपाल तर्फ आइपुगे।

अन्तमा, यो दुखेसो मेरो मात्र नभई विदेशमा अलपत्र परेका र संगैका सहयात्रीहरूको पीडालाई पोखेको मात्र हो। सुन्ने कसैले छैन। संगै यात्रामा रहनुभएका पूर्व नागरिक उड्डयन तथा पर्यटन मन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ज्यूलाई पनि हाम्रो पीड़ा सुनाए, सुनाउनको लागि मात्रै भए पनि। उहाँ स्वयं मन्त्रीमा बिराजमान हुँदा पनि समस्यामा कुनै सुधार भएको थिएन। मैले भने उहाँले सुन्नुभयो। सकिएको। यसरी हप्तौं दिन बिना सूचना, खान बस्नको लागि क्षतिपूर्ति नदिइ विदेशमा लाज नमानि टिकट मात्र बेच्ने, जिम्मेवारी नबाहनु र नेपालकै बेइज्जत गर्ने अधिकार कसैलाई पनि छैन। यस्तो बिना कामको बदनाम मात्र कमाउने पुरानो हात्तीलाई पाल्नेभन्दा फाल्ने पो हो कि! अबको यात्रामा नेपाल एयरलाइन्सको टिकट लिनु अगि १०० चोटि सोचेर मात्र लिनेछु। यदि राम्रो सुविधा र विश्वास योग्य बने भने चढुला पनि गुनगाण गर्नेछु, नत्र हिम्मत गर्ने छैन, यो बेमान जहाज चढ्न।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?