Trending
>>   अहिले काँग्रेसमा विचलन छः नेता कोईराला >>   युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल >>   पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा >>   ‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’ >>   विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव >>   आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता >>   आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला >>   राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न >>   पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते
Logo
८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो


काठमाडौँ । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।

म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिएका छन् ।

सडक विभाग मातहतको पुल सेक्टरको रु. १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएका थिए । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेका थिए ।

तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फेको भनाइ छ ।

पुलकाे जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताए । गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।

सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।

पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवतजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।

पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?