Trending
>>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल कार्तिक १७ गते शनिबार, हेर्नुहोस आजको राशिफल >>   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु >>   गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन >>   कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही >>   लक्ष्मीपूजामा स्वदेशी माग धानेर २५३ मेगावाट विजुली भारत निर्यात >>   इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र >>   नागढुंगा सहकारीको पाँच करोड हिनामिना >>   १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू >>   नेपालले द्वारा इङ्ल्याण्ड छ विकेटले पराजित
Logo
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

दर्ज्यानी चिन्ह लिँदै आईजिपी कुँवरले भने- अनुचित प्रभाव र दबाव सामु कहिल्यै सम्झाैता गर्दिन


१२ चैत्र, काठमाडाैँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेका हुन् ।

सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उनको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गरे । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताए । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उनले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताए । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्ने विश्वास समेत उनले व्यक्त गरे ।

गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गरे । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’

नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गरे । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गरेका थिए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?