Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मनकारीको सहयोगले रोकालाई पुनःजीवन


सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा क्लबले चलाएको आर्थिक सहयोग अभियानबाट रोकाले पुनःजीवन पाउनुभएको हो । भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकले रोकामा मिर्गौला प्रत्यारोपण गरेको उहाँका भिनाजु कुलबहादुर रोकाले बताउनुभयो । रोका र मिर्गाैला दान दिने पूर्णमाया अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ ।

कुलबहादुरका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । “धेरै जनाले सहयोगको हात फैलाउनुभयो, उपचार सफल भएको छ, स्वास्थ्य अवस्था पनि राम्रो छ”, उहाँले भन्नुभयो, “गाह्रोसाह्रोमा सहारा दिनुहुने सबै हाम्रो परिवारका लागि धन्य हुनुहुन्छ, सहयोग रकमले लगभग उपचार खर्च धान्ने देखिएको छ ।” अभियानबाट जुटेको रु १५ लाख ३५ हजार गत कात्तिकमा रोकाका परिजानलाई हस्तान्तरण गरिएको थियो । नवर्सिजना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार उक्त रकममध्ये रु ६५ हजार बहराइनमा रहनुभएका जीवन रोकामगरको अगुवाइमा उठेको थियो । परिवारको आग्रहमा दुई क्लब मिलेर सहयोग अभियान चलाएका थिए । “देशविदेशबाट धेरै सहयोगी अभियानमा जोडिनुभयो, त्यही कारण आज एउटा युवाले पुनःजीवन पाउनुभएको छ”, अध्यक्ष न्यूरेले भन्नुभयो, “अर्थाभावले उपचारबाट बञ्चित हुनुपर्ने स्थिति आउँदा यसअघि पनि हामीले यसरी नै गाउँमा रकमको जोहो गरेका धेरै उदाहरण छन् ।” मिर्गाैलाको महँगो प्रत्यारोपण र उपचार थेग्न नसक्ने देखिएपछि रोकाका परिवारजनले सहयोगको याचना गर्दै आएका थिए । गत वर्ष विदेश जाने सुरसारमा रहेकै बेला रोकाका दुवै मिर्गाैलाले काम गर्न छाडेका थिए । अकस्मात बिरामी परेपछि विदेश जान नपाई उहाँ घर फर्कनुपरेको थियो । कमाउने उमेरमा रोगले च्यापेपछि रोका चिन्तित हुनुहुन्थ्यो ।

आफन्त, शुभेच्छुकलगायतको सहयोगमा उहाँमा मिर्गौला प्रत्यारोपण सफल भएपछि परिवारजनलाई पनि सन्तोष मिलेको छ । दुर्घटना या गम्भीर रोग लाग्दा पैसा नभएकै कारण उपचार पाउन नसक्ने व्यक्तिलाई यसरी नै अभियान चलाएर आर्थिक सहायता प्रदान गर्ने गरिएको क्लबका अध्यक्ष न्यूरेले बताउनुभयो । “यस्तै प्रकृतिका घटनामा अहिलेसम्म झण्डै रु एक करोड जति जुटाएर सम्बन्धित व्यक्ति र परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “न्यून आय भएका परिवारमा कसैलाई जटिल स्वास्थ्य समस्या देखिएमा क्बलले आर्थिक सहयोग अभियान थाल्छ, त्यसमा स्वतःस्फूर्त रुपमा रकम जुट्छ ।”


प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?