Trending
>>   ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता गर्ने प्रावधानप्रति इप्पानको आपत्ति >>   गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी >>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

भाषाको सम्प्रभुता प्रयोगकर्तामा


सरदचन्द्र वस्ती

नेपाली भाषामा भाँडभैलो मच्चाउने आदेश/निर्णयहरूको लामो श्रृंखलामा, २०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्रीले गरेको परम्परागत वर्णविन्यास गिजोल्ने निर्णयलाई सर्वोच्च अदालतको संयुक्त इजलासले यही २०८१ असार ९ गते उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । यो नेपाली भाषाको शुद्धता, स्पष्टता, स्तरीयता र प्रामाणिकताका पक्षमा उभिने सबैका लागि खुशीको विषय हो । यसलाई न्यायपालिकाद्वारा निरूपित गराउन अग्रसरता लिने भाषा–भगवानका अनन्य भक्त डा. ‘गाउँले’ बलदेव अधिकारी, ऊर्जस्वी अधिवक्ता स्वागत नेपाल, टपेन्द्र कार्की लगायत सबैलाई म हार्दिक बधाई दिन्छु ।

यस निर्णयका क्रममा सर्वोच्च अदालतले निरूपण गरेको अर्को पक्ष वा भनौं निर्णयाधार सबैभन्दा महत्वपूर्ण छ । १.नेपाल प्रज्ञा–प्रतिष्ठान, २.त्रिवि नेपाली शिक्षण विभाग, ३.शिक्षा मन्त्री/मन्त्रालय, र ४.पाठ्यक्रम विकास केन्द्र— प्रत्येकको नाम किटानी गर्दै, तिनलाई ऐन–कानूनले प्रदान गरेको अधिकारको ऐना देखाउँदै अदालतले स्पष्ट शब्दमा भनेको छ— नेपाली भाषाको वर्णविन्यास, लेखन शैली र व्याकरण परिवर्तन गर्ने अधिकार यीमध्ये कसैलाई पनि छैन । यो तिनीहरूको हैसियतभित्र पर्ने कुरै होइन । यी मात्र किन, यो विषय स्वयं मन्त्रिपरिषद् वा राज्यको कुनै पनि निकायको क्षेत्राधिकार भित्र पर्दैन भन्ने पनि अदालतले स्पष्ट पारेको छ ।

सर्वोच्च अदालतको यो निष्कर्षले २०४० को नेपाली बृहत् शब्दकोशमा घुसाइएको वर्णविन्यासको विकृति, २०५८ को नेबृशले गरेको शुद्ध–हिज्जेका शब्दहरूको उन्मूलन देखि लिएर त्यसपछिका दिनमा लादिएका तमाम अतिवादी निर्णयहरू (दीर्घ ई–ऊ हटाउने, व हटाउने, श–ष हटाउने, संयुक्ताक्षरका खुट्टा काट्ने आदि आदि) पूर्णतः ‘गैरकानूनी’ एवं ‘अनधिकार–चेष्टा’ भएको स्पष्ट भएको छ । “प्रयोगकर्ताले थाहासम्म नपाउने गरी वर्णविन्यासको नियम परिवर्तन गरिएको” अभिलिखित गरेर अदालतले यी संस्था/निकायहरूको बदनियत र षड्यन्त्रकारी चरित्रको समेत पर्दाफास गरिदिएको छ ।

परन्तु, अदालतले राम्रो निर्णय गर्‍यो भनेर हामीले चूप लागेर बस्न हुँदैन । नत्र फेरि धोखा हुनेछ । २०७३ कार्तिकमा भाषा बचाऊ आन्दोलनका सामु घुँडा टेकेर आफ्नो शब्दकोश समेत बदर गर्न बाध्य भएको प्रज्ञा–प्रतिष्ठानले त्यसपछि पनि जिराहा पाराले सारा विकृति लगभग यथावत् लाद्न खोजिरहेको उदाहरण हाम्रा सामु छ । यी यस्ता संस्था/निकाय हुन्, जो संविधानको बर्खिलाफ गर्न पनि पटक्कै संकोच मान्दैनन् । राज्यकोषबाट दानापानी खाने यी चारैवटा संस्था/निकायले आज पनि उस्तै जिराहा पाराले, नेपालको संविधान स्वयंले अपनाएको वर्णविन्यास र त्यस क्रममा उसले अंगीकार गरेको भाषिक सिद्धान्तको अवज्ञा गर्दै त्यसका विपरीत शब्दकोश–निर्माण, पाठ्यपुस्तक–निर्माण र पठन–पाठन सञ्चालन गरिरहेका छन्, सिंगो निजामती कर्मचारीतन्त्रलाई उल्टो बाटोमा हिंड्न बाध्य बनाइरहेका छन् । यसबारे सर्वोच्च अदालतले स्वतः संज्ञान लिएर, संविधानको यो गाईजात्रा बन्द गराउनु उचित हुनेछ ।

जे होस्, असार ६ को निर्णय नेपाली भाषाको शुद्धता, स्तरीयता र प्रामाणिकताको पक्षमा छ । भाषाप्रेमी हामी सबैले यसको अनुसरण गर्नुपर्छ । यसको अग्रसरता आम सञ्चार माध्यमले लियो भने नेपाली भाषाको –र उसको पनि– अनुहार छिट्टै उज्यालो हुनेछ ।


प्रकाशित मिति: १३ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?