काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनु पर्ने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, यसको बचावटका लागि हिति प्रणालीको बिज्ञान बचाउनु पर्ने धारणा राख्नुभएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘हिति प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘वडास्तरीय सक्रियताबाट छिट्टै नतिजा प्राप्त हुन्छ । यसकारण वडा तहबाट प्रयास थालिनु पर्छ ।’ डंगोलले भन्नुभयो, ‘यसले सांस्कृतिक सहरको मर्म बचाउन ठूलो योगदान हुनेछ ।’
पानीको स्रोत संरक्षण तथा व्यवस्थापन, पानी पुनःभरण, भण्डारण, वितरण, प्रयोग र पुनःप्रयोगका लागि पूर्खाहरुले निर्माण गरेको नेवाः सभ्यतासँग जोडिएको प्रणाली दिगो र बैज्ञानिक छ । यसकारण रैथाने विधिलाई बचाउनु पर्छ । डंगोलको धारणा थियो । ‘काठमाडौँ उपत्यकाको प्राचीन सभ्यतामा हिटी (हिति) प्रणाली अनिवार्य थियो । भूमिगत र बर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित थियो । सहरी विकास पद्धतिले रैथाने विधिको बिज्ञान नबुझी मास्दै गयो ।’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिति संरक्षणविद पद्मसुन्दर जोशीले भन्नुभयो, ‘ नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ति’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । शव्दबाटै यो स्थान पवित्र छ । हितिहरुमा पाइने शिलालेखहरुमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमुत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने, फोहोर फाल्न नहुने यसका नियम हुन् ।’
उहाँकाअनुसार हिटी प्रणालीको लिखित दस्तावेज राजा वृषदेवको पालामा स्वयम्भूको गोपालराज बंशावलीमा उल्लेख छ । उपत्यकालाई सिङ्गो रुपमा हेर्ने हो भने राजा मानदेवका नाति भारवीले सन् ५७० मा बनाएको पाटनको मंगः हिति अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उधृत गर्दै जोशीले उपत्यकामा ५७३ वटा हिति प्रणाली भएको बताउनुभयो । जसमध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् । ४ प्रतिशत हराइसकेका छन् । ७ प्रतिशतको नामनिसान छैन ।
प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार