Trending
>>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल >>   राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि >>   कान्तिपुरलाई मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद ! >>   कान्तिपुरका प्रधान सम्पादकलाई केही प्रश्न !
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

अझै रोकिएन बालविवाह


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ ।

सो बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो । भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य परीक्षण गरी पुनः आफन्तको जिम्मामा रामेछापस्थित घर फर्काइएको छ ।

पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिकस्तरका विद्यार्थीले कम उमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा चेतनामूलक अभियान नै थालिएको छ भने विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् ।

उक्त महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ । गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बा बताउछन् । “हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ”, उनले भने । उनका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरमा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियान समेत गरिएको छ ।

त्यसैगरी, बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित खानीखोला गाउँपालिकाले गत केही महिनामा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ भने बालविवाहलाई न्यूनीकरण गर्न गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा सडक नाटक अभियान सञ्चालन गरेको हो ।

सो गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको उनले बताएका छन् । उनले भने, “नाटकमा सानै उमेरमा विवाह गर्दा घरव्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियानमा जानकारी दिने गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

उक्त जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताए। उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको जानकारी दिएका छन् ।

त्यस्तै, गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । जिल्ला सदरमुकाम धुलिखेलकै उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन् ।

सो विद्यालयमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन । बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बालविवाहविरुद्ध उजुरी नपरेसम्म चेतनामूलक अभियान र प्रचार–प्रसारबाहेक केही गर्न नसकिने बताउँछन् । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उनले भने ।

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?