Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ


काठमाडौं। जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् ।

आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परे लगत्तै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ भने राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्री सोरेनको संलग्नता रहेको ईडीको आरोप छ ।

ईडीका अधिकारीहरूले बुधबार दिनभर मुख्यमन्त्री सोरेनसँग उनको निवासमै पुगेर बयान लिएका थिए । सो प्रकरणमा उनी दोषी हुनसक्ने देखेपछि ईडीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुख्यमन्त्री सोरेनले बुधबार राति नै राज्यपाल कहाँ पुगेर राजीनामा बुझाएका छन् ।

सो राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले जग्गा बिक्री प्रकरणमा मुख्यमन्त्री सोरेनलाई कारबाही गर्न माग गर्दै आएको थियो । ईडीले सोरेनलाई बयानका लागि प्रयास गरेपनि उनले अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । त्यहाँबाट उनको ३६ लाख रुपैयाँ नगद र एउटा बीएमडब्ल्यु कार फेला पारेका थियो ।

सोरेनले राजीनामा दिएपछि झारखण्डमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । उनको पार्टीले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ ।

ईडीले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि निगरानीमा राखेको छ । यसअघि ईडीले केजरीवाललाई पनि वयानका लागि बोलाएको थियो । तर केजरीवालले पनि बयानका लागि अस्वीकार गर्दै आएका छन् । उनीमाथि मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

सो मुद्धामा ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो ।

त्यसैगरी, ८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् भने त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?