Trending
>>   सांसद पदबाट रवि लामिछाने निलम्वित >>   आज २०८१ साल पौष ९ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल >>   स्वदेश फर्किइन् परराष्ट्रमन्त्री डा. आरजु राणा >>   अहिले काँग्रेसमा विचलन छः नेता कोईराला >>   युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल >>   पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा >>   ‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’ >>   विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव >>   आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता >>   आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

खोटाङमा सवारीसाधनको भाडादर घट्यो


खोटाङ। जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडदारलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

उक्त जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिएका छन्। ‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ’, उनले भने, ‘भाडदारलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक-एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।’

त्यस्तै, बसमा दिक्तेल–खुर्कोट रु नौ सय ५०, दिक्तेल-काठमाडौं रु एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको रु एक हजार, दिक्तेल–इटहरीको रु एक हजार तीन सय, दिक्तेल–धरान रु एक हजार तीन सय ५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल-कटारी रु एक हजार, दिक्तेल–मिर्चैया रु एक हजार एक सय, दिक्तेल–लहान रु एक हजार दुई सय, दिक्तेल(इटहरी रु एक हजार चार सय ५०, दिक्तेल–धरान रु एक हजार पाँच सय, दिक्तेल–विराटनगर रु एक हजार पाँच सय ५० र दिक्तेल-काँकडभिट्टा रु एक हजार सात सय ५० नयाँ भाडादर कायम गरिएको छ ।

दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा रु पाँच सय ५०, दिक्तेल-भोजपुर रु आठ सय, दिक्तेल-मानेभन्ज्याङ रु पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ रु छ सय, दिक्तेल–खोटाङबजार रु सात सय भाडादर तोकिएको छ भने यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् ।

“व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारीको भाडादर घटाइएको छ भने नयाँ भाडा दरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ”, उनले भने, “यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस्, तुरुन्त कारबाही गर्छौँ ।”

त्यस्तै, लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको रु एक सय, हुर्लुङ रु एक सय ५०, नुनथला रु दुई सय, महुरे रु दुई सय ५०, अर्खौले रु तीन सय र हलेसी रु तीन सय ५० भाडा लिनुपर्ने जनाइएको छ भने भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा रु तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा रु ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको रु दुई सय ५० र बिरामीसहित तीन जना भएमा रु तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो रहेको छ ।

त्यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन्।

उक्त सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ भने दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?