Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

अस्थायी पुल राखेर आउने रकम सामाजिक क्षेत्रमा खर्च गरिने


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन् ।

पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय बासिन्दाले शुल्क लिने गरेका छन् भने मोटरसाइकल चालकबाट रु ४० र साइकलबाट रु १० शुल्क लिइने गरिएको छ भने पुल प्रयोग गरेबापत पैदल यात्रुबाट शुल्क लिइने गरिएको छैन । उक्त गाउँका ९२ घरघुरीका सबै जनाले पालैपालो पुल छेउमा बसेर रसिद काटेर सवारी चालकबाट शुल्क लिने गरेका छन् भने पुल प्रयोग गरेबापत आउने रकम भने स्थानीय बासिन्दाले आफूखुसी खर्च गर्ने र लैजाने गरेका छैनन् ।

त्यस्तै गाउँलेले मिलेर इटाहा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरेका छन् । त्यही समितिको कोषमा पुलमा लगाइएको शुल्कबाट आउने रकम जम्मा गरिँदै आएको छ । नदीमा अस्थायी पुल वर्षायाम सकिएसँगै कात्तिकदेखि राखिन्छ भने असार सुरु हुनअगावै पुल नदीबाट हटाइने गरिन्छ । सोक्रम एक दशकअघिदेखि चल्दै आएको छ ।

“दुई वर्षअघि मात्रै नदीमा झोलुङ्गे पुल बनेको थियो”, विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर चौधरीले भन्नुभयो, “बनेको एक वर्ष नपुग्दै नदीको बाढीले पुल बगाएपछि अस्थायी काठको पुल राख्न बाध्य भएका छौँ ।” उनका अनुसार पुल प्रयोग गरेबापत वर्षमा रु एक लाख हाराहारी रकम जम्मा हुने गरेको छ ।

“पुलमा शुल्क उठाउनका लागि दैनिक गाउँका चार परिवारलाई जिम्मा दिइन्छ”, अध्यक्ष चौधरीले भने, “पालोअनुसार परिवारका एक/एक जनाले पालो मिलाएर बिहानको झिसमिसेसँगै साँझसम्म खटिएबापत विपद् समितिले खाजा खर्च उपलब्ध गराउने गरेको छ ।”

त्यस्तै, दिनभर उठाएको रकम कोषमा जम्मा गरिन्छ । कोषमा जम्मा भएको रकम गाउँका बासिन्दाको सल्लाह र समितिको निर्णयअनुसार सामाजिक क्षेत्रमा खर्च गरिन्छ भने यस वर्ष कोषको केही रकमबाट बाँस खरिद गरी श्रमदानमा जैविक तटबन्ध मर्मतको काम गरिएको स्थानीय रामवती रानाले बताइन् ।

कोषकै रकमबाट बगर संरक्षण, सेफहाउस मर्मत, सार्वजनिक शौचालय निर्माणलगायत कार्य गरिएका छन् । गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजानुपर्ने भए कोषबाट रु पाँच हजार तीन महिनासम्म विनाब्याज उपलब्ध गराउने व्यवस्था गरिएको छ । हालसम्म कोषबाट त्यसरी रकम लिने महिलाको सङ्ख्या ७० भन्द बढी रहेको विपद् समितिका सदस्य लक्ष्मी चौधरीको भनाइ रहेको छ ।

उनका अनुसार वैदेशिक रोजगारीमा जाने गाउँका १९ युवालाई रु ५० हजारका दरले कोषबाटै रकम उपलब्ध गराइएको छ । “कोषबाट वैदेशिक रोजगारीमा जाने युवाबाट तीन महिनासम्म ब्याज लिदैनौँ”, उनले भनिन्, “तीन महिनाभित्र रकम कोषमा जम्मा नगरे १८ प्रतिशतका दरले ब्याज लिने नियम बनाइएको छ ।” नदीको धार परिवर्तन गर्न रु ६६ हजार र जैविक तटबन्ध निर्माण गर्न रु एक लाख ७५ हजार जति खर्च भएको विपद् समितिका पदाधिकारीको भनाइ छ ।

समितिको खातामा अझै रु चार लाखजति रकम जम्मा रहेको छ । तिलकी गाउँको उत्तर र दक्षिणतर्फ गरी दुईतिर वनहरा र दोदा नदीले घेरिएको छ । दुवै नदीले वर्षात्काबेला निकै जमिन कटान गर्ने र बाढीको पानीको बहाव उच्च भएकाबेला नदी बस्तीमा छिर्ने गरेको छ । बाढीजन्य विपद्बाट जोगिनकै लागि स्थानीय बासिन्दाले विपद् समिति गठन गरेका हुन् भने विपद् समितिले खडा गरेको कोषको रकम बाढीजन्य प्रकोपमा परेकालाई मात्रै नभएर अन्य सामाजिक क्षेत्रमा खर्च हुन थालेपछि यस क्षेत्रका बासिन्दाले निकै सहजता महसुस गरेका छन् । नदीमा स्थायी पुल निर्माणका लागि माग गरेर स्थानीय बासिन्दाले गएको चुनावकाबेला उम्मेवारलाई बस्ती छिर्नमा रोक लगाएका थिए ।

उम्मेदवारले पुल बनाउने प्रतिबद्धता गरेपछि मात्रै बस्तीमा चुनाव प्रचारप्रसारको काम गर्न दिएका थिए । चुनाव जितेर गएकाले पुल निर्माणको काम एक महिनाभित्रै सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म बन्न नसकेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?