Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

आलु खेतीमा डढुवा कीराको सङ्क्रमण


इनरुवा,सुनसरी। चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन् ।

उक्त जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाएका छन् । उनले खेती सुरु गर्दा रू पाँच लाख ३४ हजार खर्च भएको बताए । मेहताले आलुको बीउमा रू एक लाख ३० हजार, मल खाद्यमा रू दुई लाख ३४ हजार, मजदुरका लागि रू एक लाख १४ हजार र अन्य विविधमा रू ५६ हजार भएको जानकारी दिएका छन्। आलुखेतीबाट मनग्य आम्दनी भए पनि यस पटक सोचे अनुसारको आम्दानी नहुने उनको भनाइ रहेको थियो ।

केही दिनयतादेखि बढेको चिसोका कारण आफूले लगाएको आलुमा रोगकिराको सङ्क्रमण देखिन थालेपछि अहिले मेहतासहित यहाँका अधिकांश किसान चिन्तित छन् । बिहान र बेलुकाको समयमा बाक्लो हुस्सो र चिसोका कारण आलु खेतीमा रोग लागेपछि खेती नष्ट हुन थालेको उनले बताए ।

त्यस्तै, आलुको बिरुवा सुक्दै जानु, पात झर्ने लगायत समस्या देखिन थालेको मेहताले बताए । चिसोबाट बचाउनका लागि औषधि छर्किएको भन्दै औषधिले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ रहेको थियो ।

त्यस्तै, श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बीचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह–७ का मङगल महतोले बताए । इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको उनको भनाइ रहेको थियो ।

सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेपछि नष्ट हुँदै गएको इनरुवा–९ बबियाका किसान सत्यनारायण यादवले बताएका छन् ।

त्यसैगरी, कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उक्त जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको सङ्क्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उनको भनाइ रहेको थियो ।

सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ । कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेटमार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोको सङ्क्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग समेत रहेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?