Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

१७ करोड बराबरको नेपाली सिमेन्ट विदेश निर्यात


२६ फागुन, काठमाडाैँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र रु छ करोड छ लाख ५६ हजार बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् ।

नियमित निर्यात

पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यात केही सुस्त भए पनि हाल नियमितरुपमा निर्यात भइरहेको जानकारी दिए ।

“ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझ्नसमेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो”, उनले भने, “हामीले निरन्तररुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ”, अर्घाखाँची ब्राण्डको सिमेन्ट हाल भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ ।

पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टिलले गत साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् ।

सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक रु दश करोड बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्कअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ ।

निर्यात र विद्युत्् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

‘सिजन’मै छैन माग

मङ्सिर महिनादेखि नेपालमा विकास निर्माणको समय सुरु भए तापनि सिमेन्ट खपत नभएको व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादन सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले विकास निर्माणको सुरु भए तापनि सिमेन्टको मागमा वृद्धि नभएको बताए ।

उहाँका अनुसार बजारमा माग नहुँदा अधिकांश सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन् । हाल ३० प्रतिशतमात्र सिमेन्ट खपत भएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?