Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण


जाजरकोट।  कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् ।

त्यस्तै, भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ भने चालु आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ । गत आवबाट दायित्व सरेका, टेण्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या भने एक सय ५३ छ । यी सबै पुल निर्माणाधीन छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयको आर्थिक सहयोग तथा प्रादेशिक प्राविधिक सेवा प्रदायक संस्था हुरुन्डेक कालिकोट र सेवक कैलालीको प्राविधिक सेवामा कर्णालीका १० वटै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

आ.व २०७८/०७९ मा ७७ वटा पुल निर्माण भएका थियो भने आव २०७९/०८० मा एक सय सात वटा गरी हालसम्म २११ वटा पुल निर्माण गरिएको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । प्राविधिक सहयोगकर्ता संस्थाका तर्फबाट कार्यक्रम संयोजक प्रयोग आचार्यका अनुसार चालु आवमा थप एक सय ५३ वटा पुल निर्माणाधीन छन् । आव २०७८र०७९ मा सङ्घीय सशर्त अनुदानबाट ६५ वटा पुल निर्माण भए भने प्रदेश सरकारबाट १२ वटा पुल निर्माण भएका थिए ।

त्यसैगरी, आ.व २०७९/०८० कूल निर्माण भएका एक सय सात वटा पुलमध्ये सङ्घीय सशर्त अनुदानअन्तर्गत पालिकाबाट ७४ वटा, प्रदेश सरकारमार्फत ३२ वटा र डोल्पाको काइके गाउँपालिकाले आफ्नै स्रोतबाट एक वटा पुल निर्माण गरेको हो । अब कर्णाली प्रदेशका १० वटै जिल्लाबाट थप एक हजार पुल आवश्यक परेको भन्दै ७९ वटै पालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा माग भएको आचार्यले बताएका छन् । उनका अनुसार २०७९ चैत महिनामा स्थानीय पूर्वाधार विभाग हरिहर भवन ललितपुरमा हुम्लाका स्थानीय तहले ५३ वटा, मुगु ३९ वटा डोल्पा ६५ वटा, जुम्ला ९४ वटा र कालीकोटका पालिकाले ८६ वटा पुल निर्माण आवश्यक रहेको भन्दै माग पेश गरेका थिए ।

त्यस्तै, दैलेखमा ९८, सुर्खेतमा एक सय ३१, सल्यानमा ३९, रुकुम पश्चिममा २३ र जाजरकोटका पालिकाले ६७ गरी कूल छ सय ९५ वटा पुल निर्माण गर्न उक्त विभागमा माग गरेका थिए । यसबाहेक प्रदेश सरकारले समेत झोलुङ्गे पुल निर्माणमा चासो देखाइरहेका कारण थप दुई सय ९५ वटा पुल निर्माणका लागि यहाँ माग भई आएको हो । यी पुल निर्माण सम्पन्न भएको खण्डमा कर्णालीमा नागरिकलाई आवतजावत गर्न समस्या नहुने स्थानीय तथा प्रदेश सरकारको बुझाइ छ भने यसका लागि कम्तीमा पनि रु पाँच अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । उक्त प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कूल रु १७ करोड ६६ लाख १५ हजार खर्च गरेको छ, भने सङ्घीय सरकारले रु २४ करोड ८३ लाख २० हजार पाँच सय खर्च गरेको छ ।

त्यसैगरी, आ.व ०७८/०७९ मा सङ्घीय सरकारले रु २७ करोड आठ लाख सात हजार विनियोजन गरेको थियो । सो प्रदेश सरकारले रु १९ करोड २२ लाख ५० हजार विनियोजन गरेकामा रु छ करोड खर्च गरेको गरेको छ भने स्थानीय तहहरूले रु १३ करोड दुई लाख ७९ हजार विनियोजन गरेकामा रु सात करोड नौ लाख ६८ हजार खर्च गरेका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीले कर्णालीका नागरिकलाई सहजरुपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर प्रदेश सरकार स्थापना भएपछि नै निरन्तर पुल निर्माणमा लागिरहेको बताएका छन् । “हामीले निरन्तररुपमा मन्त्रालयअन्तर्गत हरेक वर्ष पुल निर्माण गर्दै आइरहेका छौँ”, मन्त्री शाहीले भने, “सीमित बजेटका बाबजुद पनि हामीले कर्णालीका नागरिकले यात्रा गर्दा कुनै कठिनाइ सामना गर्न नपरोस् भनेर पुल निर्माणलाई तीव्रता दिइएको हो ।”


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?