Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बौद्धिक अपाङ्ग विद्यालय आर्थिक सङ्कटमा


राँझा,बाँके। नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सञ्चालन गर्न आर्थिक सङ्कटमा परेको छ । यो दिवा सेवा केन्द्रमा नेपालगञ्ज उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताए । उनले विद्यालय भवन र आर्थिक स्रोतको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको वातावरण दिन नसकिएको सुनाएका छन् ।

“विसं २०४९ देखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक सङ्कट उत्पन्न भएको छ, २०४९ सालदेखि अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा मङ्गलप्रसाद माविमा सुरु भएको सेवा केन्द्र १६ वर्षसम्म राम्रोसँग सञ्चालन भएको थियो”, उनले भने, “सहयोग रोकिएपछि सेवा केन्द्र मुक्तिपुरमा बहाल लिएर सञ्चालन गरिएकामा १० वर्षदेखि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको छ ।”

त्यस्तै, बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सुस्तः मनस्थिति अभिभावक सङ्घ नेपालगञ्जको प्रत्यक्ष रेखदेखमा अहिले जसोतसो सञ्चालनमा रहेको छ । बाह्य सहयोगबाहेक कुनै पनि स्रोत नभएको सो सेवा केन्द्रको मासिक खर्च रु ६० हजार रहेको सुस्तः मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट शिक्षक, रिक्सा चालकको पारिश्रमिक, बालबालिकाको खाजा खर्चदेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ भने विगत लामो समयदेखि न्यून तलबमा शिक्षक विराज सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्ता भएका बालबालिकालाई पढाउने काम गर्दै आएका छन् ।

“सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन”, आचार्यले भने, “केन्द्र रहेको सरस्वती विद्यालयले समय–समयमा विभिन्न खाले समस्या सिजना गरिरहेको हुन्छ ।” बौद्धिक अपाङ्ग विद्यार्थीमैत्री भवन नभएका कारण गर्मी र जाडोको समयमा पठनपाठनमा समस्या हुने गरेको बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रका शिक्षक सिंहले जानकारी दिए । बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यावहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने उनको भनाइ रहेको छ ।

“प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राख्नाका साथै बालबालिकाहरूलाई सचरित्र वर्णन गराएर अनकुरण गराउने गरिन्छ”, शिक्षक सिंहले भने, “शौचालय र खानेपानीको पनि अभाव, साँघुरो कक्षा कोठा भएकाले विद्यार्थीलाई पठनपाठनमा धेरै असहज भइरहेको छ ।”

त्यसैगरी, पूर्वाधार अभावमा वौद्धिक अपाङ्गता भएका विद्यार्थी नेपालगञ्जको प्रचण्ड गर्मी र कठ्याङ्ग्रिने जाडोमा जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रका लागि जस्ता पाताले छाएको एउटामात्र साँघुरो कोठा छ भने दिवा खाजाका लागि भान्साका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षा कोठामा ३४ विद्यार्थी भर्ना रहेका छन् ।

नेपालगञ्जको मौसम चिसो हुँदै गएको छ । त्यसै पनि शारीरिक र मानसिक रुपमा कमजोर बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरो कोठामा चिसोले कठ्याङ्ग्रिएर बस्नुपर्दा उनीहरू शिक्षा आर्जनभन्दा पनि यातना भोग्दै गरेको आभाष हुने गरेको छ । सो उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक गोरख थापाले बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रमा भौतिक पूर्वाधारको कार्यक्रम नरहेको बताउनुभयो । बौद्धिक अपाङ्गता भएका बालबालिकाको छात्रवृत्तिबापतको रकम उपमहानगरपालिकाबाट उपलब्ध गराइँदै आएको उनको भनाइ रहेको छ ।

उक्त उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द रेग्मीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकको बेवास्ताका कारण पनि केन्द्र राम्रोसँग सञ्चालन हुन नसकेको बताउनुभयो । वडा कार्यालयबाट सम्भव हुने सहयोग गर्दै आएको जानकारी दिँदै उनले नेपालगञ्जका सबै वडा कार्यालय र उपमहानगरपालिकाबाट पनि सहयोग हुनुपर्ने बताए ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?