Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नवलपरासीमा धान उत्पादन बढ्यो


मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताएका छन् । “गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भने ।

त्यस्तै, सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो भने उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताए ।

“जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो”, सूचना अधिकारी काफ्लेले भने, “किसानले विषेश गरेर साँवा मन्सुली, सावित्री, रामधान, युस–३१२, अनदीलगायत जातका धान रोपेका थिए ।” जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल भने गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।

“आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा छ हजार एक सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकामा यस वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सात हजार छ सय पाँच मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको छ”, सूचना अधिकारी काफ्लेले भने, “यस वर्ष अघिल्लो वर्षभन्दा थप चार सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती प्रवर्द्धनका लागि बजेट व्यवस्थापन भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको छ ।”

बारामा रु चार अर्ब ९६ करोडबराबरको अगहनी धान उत्पादन

यसैबीच कलैयाबाट प्राप्त समाचारअनुसार खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा कमी आउने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । जिल्लामा किसानले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा बाराका किसानले विभिन्न जातका अगहनी धान ३४ हजार एक सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताएका छन् ।

त्यसैगरी, खडेरीले गत वर्षको तुलनामा यस वर्ष तीन हजार तीन सय ९१ मेट्रिक टन कमी भएको केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भने । उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल तीन हजार चार सयमा बिक्री भइरहेको उपभोक्ताले जनाएका छन् भने जिल्लामा करिब रु चार अर्ब ९६ करोड मूल्यबराबरको एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए ।

त्यस्तै, गत वर्ष अगहनी धान ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा गरिएकामा त्यसबाट प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टनले एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन उत्पादन भएको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?