गुल्मी। गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष ११.५० प्रतिशतले उत्पादन कम भएको अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।
त्यस्तै, पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको पाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताउदै बिउ छर्ने बेला खडेरी पर्नु, बीउ कम उम्रनु र रोग समेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको उनले बताएका छन् ।
गुल्मीमा यस वर्ष २ हजार ८८१ हेक्टर जग्गामा ३ हजार ३४१ दशमलव ९६ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत आर्थिक वर्ष २०७९/८० मा २ हजार ९०५ हेक्टर जग्गामा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको थियो भने गुल्मीका किसानहरुले ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरेका छन् । जिल्लामा इश्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट कोदो खेती हुने मुख्य क्षेत्रहरु हुन् ।
त्यस्तै, कोदो असार र साउन महिनामा रोपेर कात्तिक महिनाको अन्तिमबाट मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ । स्थानीयले कोदोलाई ढिँडो, रोटी र रक्सी बनाउन प्रयोग गर्दछन् । पछिल्लो समय कोदोका परिकार सामान्यदेखि सुविधासम्पन्न तारे होटलका मेनुमा पनि पर्दै आएको छ भने पोषण र स्वास्थ्यका हिसाबले कोदो अत्यन्त लाभकारी मानिने पोषणविदहरु बताउँछन् ।
कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपाल १३ औं स्थानमा छ । त्यस्तै, संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेपछि नेपालले २०७९ पुस १७ गतेदेखि उक्त कार्यक्रम सन्चालनको शुभारम्भ गरेको थियो ।
त्यस्तै, गुल्मीमा कोदो खेती घट्दै गएपछि कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार