Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो


काठमाडौं। संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताएका छन् । उक्त कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताए ।

उनले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको जनाउँदै कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको उल्लेख समेत गरे । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको बताए । उनले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलबाड गर्न नमिल्ने उल्लेख गरेका छन्।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताएका छन् । उनले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहयोगमा बजार अनुगमन नियमित भइरहेको जानकारी दिए । उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले उपभोक्ताको हितलाई ध्यान दिँदै नियमित तथा छड्के अनुगमन गर्दै आएको बताए । उनले बजार अनुगमनको कामलाई तीन चरणमा विभाजन गरेर पहिलो प्रचारप्रसार, दोस्रो घरदैलो र तेस्रो चरणमा कैफियत भएकालाई कारबाही गर्नेगरी योजना निर्माण गरिएको बताए ।

उक्त कार्यक्रममा घरेलु तथा किराना पसल सङ्घ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधिले बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र सरकारको महत्वपूर्ण भूमिका रहेको बतयेका थिए ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?