Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित


जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भन्नुभयो, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र सनिगाउँ स्वास्थ्यचौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जना एकैदिन शिविरबाट लाभान्वित भएका छन् ।” सो स्वास्थ्य शिविरबाट चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ । पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयं महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा सुबि बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिला गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुसी भएको यहाँका महिला बताउँछन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने सिञ्जाका स्थानीयवासीको माग रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुग्ने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सिञ्जा गाउँपालिका–४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्यामा हुनुहुन्थ्यो । चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उहाँ आफ्ना समस्या लुकाउन बाध्य हुनुहुन्थ्यो ।

आफ्नो स्वास्थ्यभन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उहाँले आफ्नो समस्या कसैसँग सुनाउनु भएन । साथै उहाँले उपचार गर्ने र जचाउने मेसो पनि पाउनुभएको थिएन । सिञ्जाको नराकोट स्वास्थ्यचौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पदमकलीले पहिलोपटक आफ्नो पाठेघर जचाउनुभयो । र उहाँको पाठेघर नखस्ने रिङ हालियो । स्वास्थ्यचौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जचाउन पाउँदा राहत महसुस भएको पदमकलीले बताउनुभयो । गाउँ केन्द्रिकृत स्वास्थ्यकर्मी लिएर स्वास्थ्य सेवादेखि अन्य सेवा प्रवाह दिन थालेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?